कांग्रेसको क्रियाशील सदस्यताको विवाद सहमतिको बाटोमा, प्रक्रिया पूरा गरेर स्वीकृत गर्ने सहमति


काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यमा देखिएको विवाद समाधान उन्मुख देखिएको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले देशभरिबाट प्रक्रिया पुरा गरेर आएका क्रियाशील सदस्यको नामलाई समावेश गर्ने सहमति जुटाएको हो ।

नेपाली कांग्रेसको क्रियाशील सदस्यको मनोनयनमा नेता अनुकुलको नाम आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउबाले एकलौटी नाम सिफारिस गरेर पठाएको भन्दै निष्पक्ष छानविनको माग गर्दै दबाब दिदै आएको थियो ।

आज भएको सहमतिमा नविकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनौटको प्रक्रिया हेरी छानविन समितिले निर्णय गर्न सक्ने गरि मापदण्ड पनि बनाएको छ । यस्तै विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पुरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।

प्रदेश जिल्ला र वडा स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुन नसके छानविन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ । बैठकपछि क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित बनेको क्रियाशील सम्बन्धि बिषयले निकास पाएको बताए ।

यो निर्णयसँगै क्रियाशील सदस्य छानविन सम्बन्धि कुनै समस्या नरहेको र केही दिनमा छानविनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए । महाधिवेशन आउन दुई महिना भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन ।

असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुंग्याइ सक्नुपर्ने दबाबमा रहेको छानविन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो ।

समितिको आग्रहमा बसेको बैठकले सहमति जुटाए पछि छानविनको काम अगाडि बढ्ने बताइएको छ । कांग्रेसमा पुराना क्रियाशील सदस्यमा धेरै विवाद नरहे पनि समितिले अन्य पार्टीबाट आएका र नयाँ क्रियाशील सदस्यको सिफारिसमा विवाद देखिएको छ ।