प्रधानमन्त्री ओली नेपालको वामपन्थी आन्दोलन समाप्त पार्न उद्दतः दीनानाथ शर्मा


काठमाडौं । राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माले नेपालका पार्टीहरुले लोकतान्त्रिक चरित्र देखाउन नसकेको बताएका छन् । बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य शर्माले नेपालका राजनीतिक दलहरुको लोकतान्त्रिक चरित्र हुन नसक्दा राजनीतिक संकट पैदा भएको बताएका हुन् । उनले लोकतन्त्र भनेको माला जप्ने विषय नभई व्यवहारमा प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।

लोकतन्त्रका फरक मतको पनि सम्मान गर्नुपर्ने भएपनि नेपालमा केवल आफ्नो गुटको मात्रै कुरा सुनेर अगाडी बढ्दा समस्या पैदा भएको उनले उल्लेख गरे । शर्माले नेपालको राजनीतिक प्रणाली संविधान र संसदको सर्वोच्चतामा आधारित भएको भन्दै संविधानलाई विघटन गरेर र संविधानको धाराहरुको खिल्ली उडाएर लोकतन्त्र र संविधानलाई समाप्त पार्न खोजिएको बताए ।

उनले प्रतिगमनको कालो बादल मडारिएको टिप्पणी गरे । उनले भने, ‘हाम्रो प्रणाली भनेको संसदको सर्वोच्चता हो । संविधानको सर्वोच्चता हो । संविधानलाई नमानेपछि, संसदलाई नमानेपछि, संसदलाई विघटन गर्दै हिँडेपछि, संविधानको धाराहरुको खिल्ली उडाएपछि उत्पन्न राजनीतिक संकट हो । राष्ट्रिय संकट हो । यो संकट सबभन्दा गम्भीर संकट हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत् देश चलाउन खोज्नु चाहिँ निर्दलीयता भएको बताए । उनले एमालेको एकता नजोगिए नेपालको वामपन्थी आन्दोलन समाप्त हुने भन्दै प्रधानमन्त्रीलाई घमन्ड त्यागेर पार्टी एकता जोगाउन आग्रह गरे । प्रधानमन्त्रीले दुई पटक संसद विघटन गरेको भन्दै उनले तेस्रो पटक पनि विघटन गरेर गिनिज बुकमा नाम लेखाउन खोजेको टिप्पणी गरे ।

उनले भने, ‘तेस्रो पटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ । संसद विघटन गरेर गिनिज बुकमा नाम लेखाएर गौरव गर्नुपर्ने अवस्था छैन ।’ उनले आफूले प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै सर्वोच्च नेता मान्दै आएको तर संसद विघटन र पार्टी फुटाउने काम गरेपछि उनीप्रति वितृष्ण जागेको बताए । शर्माले राष्ट्रियसभाको बैठक दुई चार दिनमा बन्द नगर्न आग्रहसमेत गरेका छन् ।