काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग छलफल गरेको छ । बुधबार शिक्षामन्त्रीलाई आयोगमा बोलाएर आयोगका पदाधिकारीले छलफल गरेका हुन् ।
आयोगकी सदस्य लिली थापाले लैंगिक असमानता, मानव अधिकारको हननको साथै जातीय विभेद को बिरोधमा आयोगको प्रतिबद्धताकाबारेमा मन्त्रीसँग छलफल भएको जानकारी दिइन् ।
त्यसक्रममा मन्त्री श्रेष्ठले आफूलाई गल्ती महसुस भएको र अब आइन्दा यस्तो नगर्ने बताएका थिए । रुपा सुनारले दलित भएकै कारण आफूलाई काठमाडौंको बबरमहलमा घरबेटीले कोठा नदिएको भन्दै सरस्वती प्रधान विरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि प्रधान पक्राउ परेकी थिइन् । सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रधानलाई थुना मुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो ।
प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डा सहितको गाडी लिएर अनामनगर स्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए । त्यसपछि शिक्षामन्त्री विवादमा तानिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मन्त्री श्रेष्ठलाई गल्ती गरेको भन्दै सचेत गराएका थिए ।

प्रतिक्रिया