काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेको बताएका छन् ।
उनले भनेका छन्, “यति बेला नेकपा विभाजन र एमालेभित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति विथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमालेभित्र घात–प्रतिघात, गुट–उपगुट, विश्वास–अविश्वास, कारबाही–प्रतिकारबाही, समर्थन–विरोधजस्ता क्रियाकलापहरु भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य स्रोत हो।’
यस्ता छन् आचार्यका ६ सुझाव
यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् ।
अहिले नेकपा एमाले भित्र घात–प्रतिघात, गुट उपगुट, विश्वास–अविश्वास, कार्वाही–प्रतिकारबाही, समर्थन–बिरोध जस्ता कृयाकलापहरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो । यसको अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक छ :
(१) पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु void घोषणा गर्नुपर्दछ ।
(३) पार्टी भित्रका गुटहरुको टकरावका कारण यसबीच भएका द्वन्द्व र कामहरुको उपयुक्त समयमा समीक्षा गर्दै भएका कमीकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा संचालन गर्नुपर्दछ ।
(६) नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमताकासाथ पार्टीलाई एकतावद्ध बनाउने र सबै वामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्तिका उपलब्ध्हिरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढ्नु पर्दछ ।

प्रतिक्रिया