संसद विघटन गलत थियो भनी आत्मालोचना गर्न प्रधानमन्त्रीलाई युवा संघको सुझाव


काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ वाग्मती प्रदेश कमिटीले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेको छ ।

मंगलबार विज्ञप्ति जारी गरी युवा संघले प्रतिनिधिसभा विघटन गर्नु गलत भएको भन्दै आत्मालोचना गरेर अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको हो ।

त्यस्तै, संघले पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा दिएर एकताको पक्षमा उभिन पनि आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ।’

यस्ता छन् युवा संघका पाँचबुँदे माग 
क)
नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेष्ठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ख) जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्माआलोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ ।

ग) एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ  । यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्युँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ ।

घ) एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ ।

ङ) विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवनरक्षा गर्नको लागि जोडदार माग गर्दछौँ ।