ओलीको प्रस्ताव छलछामपूर्ण भएको माधव नेपाल पक्षको ठहर(वक्तव्यसहित)


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गलत बाटो परित्याग नगरेको र ६ बुँदेका नाममा अनेकता सिर्जना गर्न खोजेको भन्दै एकता प्रस्ताव, शर्त अस्वीकार गर्ने बताएको छ ।

सोमबार स्थायी कमिटीको बैठक बसेर नेपाल पक्षले अध्यक्ष ओलीको प्रस्ताव छलछामपूर्ण भएकाले अस्वीकार गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष केपी ओलीद्वारा जारी वक्तव्यको बुँदा नं. १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको छ । यही बुँदामा, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण २०७५ साल जेठ ३ गते भएकोले सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित हुने फैसला भएकाले जेठ २ गते पूर्वको स्थितिमा पार्टी समग्ररुपमा कायम हुनुपर्छ भन्नुपर्नेमा ३ गते पूर्व भन्दै अल्मल्याउने भाषा प्रयोग भएको छ । साथै नेकपा (एमाले) २०७५ साल जेठ २ गते पूर्वको स्थितिमा कायम हुने कुरा नगरी “नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा” उभिएका व्यक्तिहरुलाई “आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने” कुरा गर्दै यथार्थमा पार्टीलाई २०७५ साल जेठ २ गतेको स्थितिमा कायम नराखी आफ्नो गुटगत स्वार्थ अनुरुप हुने कुरा गरिएको छ । यस्तो कुरा पार्टी एकता कायम गर्ने मनसायबाट आएको भन्ने कदापि देखिन्न । यो अस्वीकार्य छ ।’