महिनैजसो फेरिइरहने मन्त्रिमण्डल हेर्नुभो भने पनि थाहा हुन्छ, जसको जति खराब छवि र इतिहास छ, उति नै बढी प्राथमिकतामा
नारायण गाउँले ।
यसअघि पनि राजनैतिक नियुक्ति पाउनेहरू प्रायः सबै दलबहादुर नै हुन्थे । तर, नियुक्त भइसकेपछि कम्तिमा तिनले आफ्नो कार्यक्षेत्रबाहिर गएर राजनैतिक अभिव्यक्ति दिएको देख्न पाइन्नथ्यो । सबैको हुन नसके पनि ती देखिने गरी कुनै पार्टी या ग्रुपका मात्रै हुन् जस्ता लाग्दैनथे ।
आजभोलि नैतिकता र मर्यादाको त्यो झिनो पर्दा पूरै च्यातिएको देखिन्छ । संवैधानिक नियुक्ति होस् या रेलवेदेखि भूमि आयोग होस्, नियुक्ति बुझ्नेहरूको काम नियुक्तिकर्ताको निरन्तर भक्ति र चाकरी गर्नुमात्रै हो जस्तो देखिन्छ । तिनले आफ्नो विभागको काम र प्रगतिबारे त बोलेको सुनिन्न तर फुलटाइम कार्यकर्ताभन्दा बढ़ी आक्रामक र तुच्छ शब्दमा राजनैतिक गालीगलौज गरेको चाहिँ दिनहुँ देख्न पाइन्छ ।
यसरी अहोरात्र व्यक्तिको ‘सार्वजनिक स्तुति’ गरेमात्र सार्वजनिक पदमा बसिरहन पाइने दृश्य उदेकलाग्दो देखिन्छ । अदालतदेखि अख्तियार र दूतावासदेखि आयोगहरूसम्म योग्यता र स्थापित प्रोटोकल समेत लत्याएर चाकरीबाजहरू भर्ने, तिनलाई खुलेआम राजनीति गर्ने छूट दिने संस्कारले वर्तमान मात्रै होइन भविष्य पनि बर्बाद पारिरहेको छ ।
अन्य नियुक्तिहरू त के कुरा भो र, महिनै जसो फेरिइरहने मन्त्रीमण्डल हेर्नुभो भने पनि थाहा हुन्छ, जसको जति खराब छवि र इतिहास छ, उति नै बढ़ी प्राथमिकता र ठूलो प्रोफ़ाइलका साथ ऊ मन्त्री पदमा छानिइरहेछ ! तुलनात्मक रूपमा सोझो र इमान्दार देखियो भने अर्को पटकको विस्तारमा त्यो रहन्न भन्ने भविष्यवाणी सजिलै गर्न सकिन्छ ।
हामी इतिहासकै नैतिकता र मर्यादाहीन राजनीतिको साक्षी बन्न पाएका छौं !