यदि हामीले मानिसहरूलाई खोप दिन सक्यौँ भने कोभिड नियन्त्रण गर्न सक्छौँ, अन्यथा कठिन हुनेछः प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिश समकक्षी बोरिस जोनसनलाई आफूहरूलाई खोप अत्यावश्यक भएको भन्दै सहयोगका लागि आग्रह गरेका छन् । नेपाल कोरोनाभाइरसको कहालीलाग्दो दोस्रो लहरसँग जुझिरहेको बेला बीबीसीकी दक्षिण एशिया संवाददाता रजनी वैद्यनाथनसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले दुई देशको ऐतिहासिक सम्बन्धका आधारमा त्यसो गर्नु ब्रिटेनको दायित्व हुने बताएका हुन् ।

ओलीले वेलायतका लागि नेपाली गोर्खा सैनिकहरूले गरेको त्याग र सेवाका कारण कोभिड सहायतामा नेपाल उसको प्राथमिकतामा पर्नुपर्ने बताएका हुन् । नेपालमा पछिल्लो महिना दैनिक नौ हजारभन्दा धेरै सङ्ख्यामा दैनिक सङ्क्रमण पुष्टि हुने गरेको थियो ।

ओलीले भने, ‘म ब्रिटिश सरकारलाई, खासगरी प्रधानमन्त्री बोरिस जोनसनलाई, नेपालको अवस्था र हामी कसरी दुःख पाइरहेका छौँ भन्ने जानकारी गराउँदै केही गर्न भन्न चाहन्छु।’ सङ्क्रमित हुनेको दर विश्वमै उच्च रहेकोमध्ये नेपालमा मे महिनामा एकाएक कोरोनाभाइरस पुष्टि हुनेको सङ्ख्या बढेको थियो ।

सो महिनामा मात्र चार हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका थिए । छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शय्या र अक्सिजनको आपूर्ति अभावसँग जुझिरहेको छ । राजधानी काठमाडौंजस्ता केही ठाउँमा अवस्था केही सामान्य भइरहे पनि यतिखेर भाइरस ग्रामीण क्षेत्रमा फैलिरहेको छ ।

फेब्रुअरी महिनाको सुरुतिर नेपालमा दैनिक जसो एक सयको हाराहारीमा सङ्क्रमितहरू देखा परिरहेकामा मे महिनाको सुरु तिरै उक्त सङ्ख्या दैनिक नौ हजारतिर पुग्यो । छिमेकी भारतमा जस्तै नेपालले समेत अस्पतालका शैय्या र अक्सिजनको आपुर्ति अभावसँग जुझिरहेको छ।उक्त हिमाली मुलुकले केही अन्तर्राष्ट्रिय सहायता पाएको छ जसमा वेलायले दिएको २६० वटा भेन्टिलेटर र २ हजारको सङ्ख्यामा पीपीई सामग्री समेत छन् ।

तर प्रधानमन्त्री ओलीले आफूलाई चाहिएको कुरा खोप भएको बताउँछन् । झन्डै तीन करोड जनसङ्ख्या भएको नेपालका तीन प्रतिशतभन्दा कम मानिसहरूले मात्र पूर्ण मात्रा खोप लगाएका छन् ।

ओलीले भनेका छन्, ‘यदि हामीले मानिसहरूलाई खोप दिन सक्यौँ भने कोभिड–१९ नियन्त्रण गर्न सक्छौँ अन्यथा हामीलाई कठिन हुने छ।’ नेपाली अधिकारीहरूले चीनबाट केही खोप मगाएका छन् । तर भारतको सङ्कटबीच उसले वाचा गरेको खोप नदिँदा आस्ट्राजेनेकाको पहिलो मात्र खोप लिइसकेका ज्येष्ठ नागरिकहरू यतिखेर दोस्रो मात्रा लिन पाइरहेका छैनन् । प्रधानमन्त्री ओली नेपालको सबैभन्दा पुरानो मित्रका रूपमा वेलायतलाई सिधा आग्रह गरिएको बताउँछन् ।

‘आफ्नो ज्यान दाउमा राखेर गोर्खाहरूले वर्षौँ यूकेको सेवा गरेका छन्,’उनले भने। वेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई आफूहरू ‘यस महामारीमा नेपालसँग काँधमा काँध मिलाएर उभिने’ र ऊ ‘नेपाललाई जीवनदायी स्वास्थ्य सामग्री दिने र स्वास्थ्य विज्ञहरू पठाउने पहिला केही देशमध्ये रहेको’ बताउँछन् । ‘अन्तर्राष्ट्रिय रूपमा खोप किन्ने र समान रूपमा वितरण गर्ने कोभ्यास्क कार्यक्रमका लागि यूके शीर्ष सहायताकर्ता हो,’ ती प्रवक्ताले थप भनेका छन्।

‘हामीले ५०.४८ करोड पाउन्ड स्टर्लिङ उक्त कार्यक्रमका लागि बाचा गरेका छौँ जसले यो वर्ष नेपाल सहितका विकाशशील देशमा १ अर्बभन्दा धेरै मात्रा खोप उपलब्ध गराउनेछ।’

नेपालका परराष्ट्रमन्त्रीले ब्रिटिश समकक्षी डोमिनिक राबसँग कुरा गरे तापनि ओलीले आफूले प्रधानमन्त्री जोनसनसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने प्रयास गरिरहेको बताएका छन् । वेलायतलाई त्यस्तो आग्रह भइरहँदा अमेरिकाले आफ्नो सहायता अन्तर्गत नेपाल सहितका एसियाली देशहरूलाई ७० लाख मात्र खोप उपलब्ध गराउने जनाएको छ।