काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीलाई सरकारमा भित्राएर प्रधानमत्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन् । पुनर्गठित मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन् । शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् ।
यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन् ।
को को भए विदा ?
उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र ३ राज्यमन्त्री बाहिरिएका छन् । त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे र सञ्चारमन्त्री पार्वत गुरुङ पनि नवगठिन मन्त्रिपरिषद्मा परेनन् ।
त्यस्तै, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना पनि बिदा भएका छन् । त्यस्तै मन्त्रिपरिषद्बाट शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग राज्यमन्त्री विमला विक र स्वास्थ्य राज्यमन्त्री नवराज राउत बिदा भएका छन् ।


प्रतिक्रिया