काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेकोमा बिचरा ! भनेका छन् ।
शनिबार सामाजिक संजालमार्फत थापाले गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने भन्दै ओलीलाई त्यसतर्फ ख्याल गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ,बिचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !! ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
प्रधानमन्त्री ओलीले शनिबार आयोजित एक कार्यक्रममा प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका थिए । ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए ।
उनले भनेका थिए, ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेन । सभापतिको तहबाट राष्ट्रपतिको सम्बन्धमा बोलिएको भाषामा तिमी, उनी, यसो गरिन् भन्ने बोलिएको छ।’

प्रतिक्रिया