‘हिजो प्रचण्डलाई गाली गरेर पाप ढाकियो, आज झलनाथ–माधवलाई गाली गरेर एमाले विभाजित गरिँदैछ’


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले झलनाथ–माधवलाई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गर्न खोजिएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत भुसालले हिजो प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको र आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गर्न खोजिएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ । आज हामी विरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोश्रो पटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दावीको खण्डन हुँदैन । विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर आत्मसमर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ ।’