काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लन आग्रह गरेका छन् ।
शनिबार सामाजिक संजालमार्फत थापाले सरकार एक्लैले कोरोना संक्रमणको भयावह अवस्थासँग जुध्न नसक्ने भएकाले प्रधानमन्त्रीलाई अहंकार त्यागेर क्षति न्यूनिकरणतर्फ लाग्न आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘कोरोना संक्रमणको जुन भयावह अवस्थामा हामी छौँ, निश्चय नै सरकार एक्लैले यसको सामना गर्न सक्दैन।सबै पक्ष र आम नागरिक सचेत,सतर्क र जिम्मेवार बन्नैपर्छ । तर प्रधानमन्त्रीज्यू यो लडाइँमा ’हामी सक्दैनौँझ भनेर मन्त्रालयले हात उठाउने अनि तपाईँको प्राथमिकतामा अझै पनि महामारी नपर्ने! आपत्तिजनक छ !’
थापाले प्रतिपक्ष सरकारलाई साथ दिन तयार रहेको भन्दै महामारी नियन्त्रणलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । थापाले भने, ‘कठिन छ,तर अझै हामीसँग उपलब्ध स्रोत,साधन,जनशक्तिको सदुपयोग गरेर क्षति न्यूनीकरण गर्न सकिने ठाउँ छ । त्यसका लागि उपाय जानेकाहरुको कुरा सुन्न र आवश्यक निर्णय लिन सरकार तयार हुनुपर्छ । प्रधानमन्त्रीज्यू, हामी साथ दिन तयार छौँ,कृपया अब त अहंकार र अकर्मण्यताको धरहराबाट ओर्लनुस्।’

प्रतिक्रिया