एक वर्षमा कोभिड महामारीका विषयमा सिकेका आठ कुरा



एक वर्षअघि कोभिड–१९ को पहिलो सङ्क्रमण देखा परेपछि वैज्ञानिक, डाक्टर र बिरामीहरूलाई भाइरसले अलमलमा पारिदिएको थियो । एक वर्षमा महामारीले २६ लाख भन्दा धेरै मानिसको ज्यान लिइसकेको छ र करिब १२ करोड मानिस सङ्क्रमित भएका छन् । यस दौरान डाक्टर र वैज्ञानिकहरूले कोभिड–१९ सँग जुध्ने प्रमाणहरू सङ्कलन गरेका छन् र हामीले नयाँ कोरोनाभाइरसबारे यसको सङ्क्रमण कसरी हुन्छ र यसको थप प्रभावकारी उपचार कसरी गर्ने भन्नेबारे थाहा पाएका छौँ ।

कोरोनाभाइरसबारे हामीले सिकेका मुख्य आठवटा कुरा यस्ता छन्।

१. कोभिड–१९ रोक्न मास्क अत्यावश्यक
अनेक अध्ययनहरूले मास्क लगाउँदैमा कोरोनाभाइरसको विस्तार नरोकिए पनि त्यसमा सहयोग पुर्याउने देखाएका छन् । अमेरिकामा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हालै कपडा र सर्जिकलको दुई पत्रे मास्क लगाउँदा भाइरस विस्तारलाई ९० प्रतिशत रोक्न सक्ने बताएको छ । विज्ञहरूका अनुसार मास्कले दुईवटा फाइदा गर्छः मास्क लगाउनेलाई सुरक्षा गर्छ र मास्क लगाएका सङ्क्रमितको सम्पर्कमा पुग्नेलाई जोगाउँछ । विश्व स्वास्थ्य सङ्गठनले गत जुन महिनादेखि नै घरबाहिर निस्किनुपर्ने सबैले कपडाको मास्क लगाउन जोड दिइरहेको छ । डिसेम्बर महिनामा राष्ट्रसङ्घीय निकायले आफ्नो सिफारिस अद्यावधिक गर्दै विशेषगरी स्वास्थ्य निकायहरूमा मास्क लगाउने कडा मापदण्डको निम्ति आग्रह गरेको थियो । अप्रिल महिनामा त्यस्तै सुझाव सीडीसीले पनि जारी गरेको छ।

२. कोभिड–१९ ले वृद्धवृद्धालाई मात्र प्रभावित गर्दैन

उमेरका कारण कोभिड–१९ ले गम्भीर लक्षण विकास गर्न जोखिम हुन्छ र त्यसले ज्येष्ठ नागरिकलाई बढी जोखिममा पार्छ । कारण निकै सामान्य छः बढी उमेरका मानिसमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ जसका कारण सङ्क्रमण भएमा त्यसविरुद्ध लड्ने शक्ति कमजोर हुन्छ । तर वयस्क हुँदैमा उसमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमता हुन्छ भन्ने होइन। मधुमेह, उच्च रक्तचाप र बढी तौल नभएकाहरूको हकमा पनि त्यो लागु हुन्छ । अरू जस्तै जवान मानिसमा पनि गम्भीर लक्षण देखिन सक्छन्, उनीहरूलाई अस्पताल भर्ना गर्नु पर्ने हुनसक्छ र ज्यान पनि जानसक्छ । तैपनि कोभिड–१९ का कारण मृत्युको जोखिम ५० वर्षभन्दा कम ( र विशेष गरी ३० वर्षभन्दा कम) उमेरका मानिसमा थोरै हुन्छ।

३. कोभिड ‘सामान्य फ्लू’ होइन

फ्लूमा जस्तै कोभिडमा पनि यी लक्षणहरू समान खालका हुन्छन्ः

उच्च ज्वरो
खोकी
थकान
केही मानिसमा शरीर दुख्ने, टाउको दुख्ने र सम्भावित पखाला र बान्ताको अनुभव पनि गर्नसक्छन् । फ्लूमा जस्तै मानिसमा लक्षण देखिनुअघि पनि कोरोनाभाइरस अरूलाई सर्न सक्छ वा लक्षण नदेखिन पनि सक्छ । कैयौँ मानिसहरूको निम्ति कोभिडको परिणाम निकै नै गम्भीर हुन्छ ।
ब्रजिलका राष्ट्रपति जइर बोल्सोनारू वा अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प जस्ता राजनीतिज्ञहरूले ‘सामान्य फ्लू’ भन्दै कोभिडको गम्भीरतालाई अवमूल्यन गर्न सक्छन् तर दुवै देशको तथ्याङ्कले फरक चित्र देखाउँछन् । अमेरिकामा हालैका महिनाहरूमा मृत्युको कारकमा कोभिड अगाडि देखिएको छ। जहाँ अहिलेसम्म पाँच लाख २५ हजारको ज्यान गएको छ । ब्रजिलमा दुई लाख ६६ हजारको ज्यान गएको छ। त्यहाँको आधिकारिक तथ्याङ्क अनुसार कोभिडले निमोनिया, स्ट्रोक र मुटु रोग जस्ता उच्च घातक रोगहरूलाई पछि पारिदिएको छ ।

४. कोरोनाभाइरसको उत्पत्ति प्रयोगशालाबाट नभइ जनावरबाट
विश्व स्वास्थ्य सङ्गठनको समूहले कोरोनाभाइरस पहिलो पटक देखिएको चीनको वुहानमा अनुसन्धान गरेको थियो । त्यसले सबै प्रमाणहरूले उक्त नयाँ भाइरस ’जनावर’ बाट उत्पत्ति भएको देखाएको जनाएको छ । उक्त समूहका प्रमुख पीटर बेन एम्बार्कले संवाददाताहरूसँग भने, ‘हामीले अहिलेसम्म सङ्कलन गरेका सबै डेटाले कोरोनाभाइरसको उत्पत्ति जनावरबाट भएको निचोडमा हामीलाई पु¥याएको छ।’ उनका अनुसार नयाँ कोरोनाभाइरस पहिलो पटक चमेरामा फेला परेको प्रमाणहरूले देखाएका छन्। तर वुहानमा चमेरा भेटिने सम्भावना कम छ । उनले कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान अझै पनि जारी रहेको तर प्रयोगशालाबाट उक्त भाइरस बाहिरिएको अनुमान ‘अति असम्भव’ रहेको बताए।

५. क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विन कोभिडको उपचारमा काम लाग्दैन

महामारीअघि मलेरियाको उपचारमा परम्परागत रूपमा प्रयोग गरिने क्लोरोक्विन र यसको सहउत्पादन हाइड्रोक्सी क्लोरोक्विनले कोभिडको उपचारमा काम गर्ने ठानिएको थियो । तर चिनियाँ अनुसन्धानकर्ताहरू र फ्रेन्च अनुसन्धान समूहरूले ती औषधी प्रभावकारी हुनसक्ने बताएका थिए। तर त्यसपछिका कैयौँ अध्ययनहरूले ती औषधीहरूले कुनै फाइदा नहुने वा हानिकारक प्रभाव पार्न सक्ने देखाएका छन् । गत वर्षको जुलाइमा विश्व स्वास्थ्य सङ्गठनले कोभिडका बिरामीको मृत्युदर कम नभएको पत्ता लागेपछि हाइड्रोक्सी क्लोरोक्विनको परीक्षण निलम्बन गरिदिएको थियो।

६. प्याकेजिङ अर्थात् सामान प्याक गरिएका वस्तुबाट सङ्क्रमण हुने सम्भावना न्यून
महामारीको सुरुताका हजारौँ मानिसहरूले नियमित रूपमा खानेकुरा र ’प्याकेजिङ’ वस्तु सफा राख्न भोग्नु परेको समस्या सामाजिक सञ्जालहरूमा प्रकट गरेका थिए । तर विश्व स्वास्थ्य सङ्गठनका अनुसार ‘खानेकुरा र खानेकुराको प्याकेजिङबाट कोभिड सरेको पुष्टि भएको छैन।’ तर उसले सावधानीको सूची शृङ्खलाबद्ध रूपमा जारी गरेको छ जसमा स्टोरमा पस्नुअघि स्यानिटाइजरको प्रयोग गर्ने र ‘खानेकुराको भाँडा प्रयोग गरेपछि, खानुअघि र घर फर्किएपछि राम्ररी हात धुनुपर्ने’ भनिएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले प्रकाशित गरेको प्रतिवेदनले पनि त्यसलाई बल पुर्याएको छ । खानेकुरा वा त्यसको प्याकेजिङ भाइरस सर्ने सम्भावित स्रोत हुन् भन्ने पुष्टि गर्ने प्रमाण नरहेको प्रतिवेदनले जनाएको छ । होम डेलिभरी चिन्ताको विषय होइन तर खानेकुरा लिइसकेपछि हात धुनु महत्वपूर्ण हुन्छ । विज्ञहरू प्लास्टिकको झोला एक पटक मात्र प्रयोग गर्न सुझाउँछन् ।

७. कोभिड एकपटकभन्दा धेरैपटक हुनसक्छ
ब्रिटेनको स्वास्थ्य निकाय पब्लिक हेल्थ इङ्ल्यान्डले कोभिड भएका ८३ प्रतिशत मानिसमा कम्तीमा पाँच महिना भाइरस प्रतिरोधात्मक क्षमता रहने पत्ता लगाएको छ । तर तमाम देशहरूमा कमै सङ्ख्यामा भए पनि सङ्क्रमण दोहोरिएको पत्ता लागेको छ । नयाँ भेरिअन्टबाट पुनः सङ्क्रमित हुनुलाई विज्ञहरूले ठूलो चिन्ताको विषय मानेका छन् । यदि सङ्क्रमित भइसकेका धेरैमा फेरि भाइरस पोजेटिभ देखिएमा त्यो नयाँ भेरिअन्टकै कारण हुनसक्छ ।
हजारौँ प्रकारका भाइरस छन् सबैभन्दा चिन्ता निम्त्याउने यी हुन्ः

ब्रजिल भेरिअन्ट (पी.१)
यूके वा केन्ट भेरिअन्ट(बी.१.१.१)
दक्षिण अफ्रिका भेरिअन्ट(बी.१.३५१)
नयाँ भेरिअन्टको विकास हुने कुरा अनपेक्षित भने होइन ।

धेरै सङ्क्रामक यी तीनथरी नयाँ भेरिअन्टले अस्पताल भर्ना बढ्नु र सङ्क्रमण दर उच्च हुनुमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
८. अहिलेका निम्ति खोपले नयाँ भेरिअन्टविरुद्ध पनि काम गर्छन्

अहिलेका खोप कोरोनाभाइरसको सुरुको स्वरूपलाई ख्याल गरेर तयार गरिएका हुन्। तर वैज्ञानिकहरूले ‘सम्भवतः धेरै राम्रो नगरे पनि’ तिनले अझै पनि काम गर्ने विश्वास गर्छन् । प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिअन्टविरुद्ध सुरक्षा दिने देखाएको छ । छिट्टै अनुमति पाउने नोभाभ्याक्स र ज्यानसेनका दुईवटा खोपले पनि केही सुरक्षा दिने बताइएको छ । अक्सफर्ड आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिअन्टविरुद्ध मात्र सुरक्षा दिने जनाएको छ। दक्षिण अफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा गर्छ । तर मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिअन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ । भविष्यमा भाइरसको भेरिअन्ट फरक रूपमा विकास हुनसक्छ ।
बीबीसीबाट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ सरकार गठनका लागि दलहरुलाई राष्ट्रपतिद्वारा तीन दिनको समय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ

विगतका गल्तीहरुलाई सच्याउन र पार्टी एकतालाई नखल्बल्याउन ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश,

कोभिडकालमा दाम्पत्यजीवन

डा. गोविन्दशरण उपाध्याय । कोभिडले मान्छेहरूलाई घरभित्र बस्न बाध्य बनाएको छ । सधैं

थप ९१२७ जनामा कोरोना संक्रमण, ४००७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ९१२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य