लोकतन्त्र, लूटतन्त्र र लाजतन्त्र !!
डा. गोविन्दशरण उपाध्याय ।
२०४७ सालदेखि निरन्तर वैदिक हिन्दू संस्कृतिमाथि प्रहार भैरहेको छ । प्रजातन्त्र होस् वा लोकतन्त्र दूवै परिवेशमा देशको ८१.३ प्रतिशत जनसंख्यालाई प्रतिनिधित्व गर्ने हिन्दू समुदायलाई अपराधी सरहको व्यबहार गरिंदै आएको सत्य हो । मार्क्सवादको झन्डा बोक्ने हुन् वा समाजवाद दुबैले हिन्दूहरूको मौलिकताको जरो काट्न खोजेका हुन् र आज पनि खासै परिवर्तन आएको छैन ।
तथाकथित लोकतन्त्रले सबैभन्दा बढी पीडा हिन्दू समुदायलाई दिएको छ । देशमा १२७ वटा ठूला मन्दिरहरूको आयस्ता सरकारले लिन्छ । मन्दिरका असंख्य गुठीहरू निजीकरण गरिएका छन् । माओवादीहरूले इसाई, जैन वा बौद्धहरूलाई छोएनन् तर सनातन धर्मका पूजास्थल, पाठशाला यहाँसम्म कि पुस्तकालयसम्म जलाए । हिन्दू संस्कृतिलाई अपराधी घोषित गर्न अनेकौं राजनैतिक र गैरसरकारी संस्थाहरू खडा गरिए । पाठ्यपुस्तक हिन्दू समग्री राख्नेहरूलाई अपराधी सरह व्यबहार गरेर वहिष्कार गर्ने नीति आज पनि जीवित छ ।
देशमा ९९४ मदरसा छन्, १०४८० चर्चहरू छन् हिन्दूहरूलाई कुनै गुनासो छैन । सबैले आ–आफ्नो धर्म मानुन्, व्यबहार गरुन् तर हिन्दू संस्कृतिक चाडवाड तथा अन्य संस्कारहरू उपर आक्रमण गर्नुलाई नै “लोकतन्त्र“ ठान्नेहरूप्रति सहमत हुनै सकिन्न । यो लोकतन्त्रले नेपालका रैथाने धर्म, संस्कृति, विज्ञान तथा परम्पराहरूको अपमानमात्र होइन, जरोकिलो मास्ने प्रयत्न गरिरहेको छ ।
वर्तमान लोकतन्त्र लूटतन्त्र र दलालीतन्त्रमा रुपान्तरित भएको सत्तासीनहरूले पनि स्वीकार गरेकै तत्थ्य हो । लोकतन्त्र आएपछि देशमा एकाएक चर्चहरू, मस्जिदहरू, मदरसाहरू गुम्वाहरू (तिब्बतेली अलगाववादीहरूका आश्रयस्थल जसलाई इसाईहरूको आशिर्वाद प्राप्त छ र नेपाली मौलिकताको पक्षमा कुनै हालतमा पनि सहकार्य नगर्न बचन बद्ध छन्) ह्वात्त बढेका छन् । जनताको जीवनस्तर बढोस्÷नबढोस् उपरोक्त समुदायको संख्या र विलासी जीवनशैली आकाशिएको छ । कुनै धर्म निरपेक्षतावादीले प्रश्न गर्दैनन् कि एतिविघ्न चर्च, मदरसा, गुम्वा वा निर्माण गर्ने पैसा कहाँबाट आयो ?
जब कुनै हिन्दू संस्थाले मन्दिर, विद्यालय वा कलेज, धर्मशाला निर्माण गर्न सप्ताह वा अन्य किसिमका सार्वजनिक वा धार्मिक आयोजना गर्छन् त्यसको एकएक पैसामा आँखा लगाइन्छ (हिसाव सही र पारदर्शी राख्नुपर्छ) तथाकथित धर्मनिरपेक्षतावादीहरू कोकोहोलो गर्छन् । जसरी पशुपतिनाथको दान होस् वा जानकी मन्दिरको दान सरकारले लिन्छ त्यसैगरी चर्च र मस्जिदहरूको दानको पनि सरकारले हिसाव लिनु पर्छ । पशुपति र जानकी मन्दिरको दान मदरसा र चर्चको उत्थानको लागि लगाउन पाइन्न ।
वर्तमान नेपाली लोकतन्त्र दलालहरूको फन्दामा परेर लूटतन्त्र भएको छ र लूटपाटतन्त्रलाई देखेर बुझ्नेहरूका लागि लाजतन्त्रमा रुपान्तरित भएको छ । देशमा विकास भएकै लूटतन्त्रको हो भन्दा असजिलो हुँदैन । यो लाजतन्त्र किन हो भने यसले चरमकट्टरपन्थी मुस्लिम तथा इसाईहरूलाई धर्मनिरपेक्ष शक्तिका रुपमा सहयोगी ठान्छ भने सधैं समावेशी स्वभाव भएको हिन्दू संस्कृतिलाई शत्रुशक्तिका रूपमा बुझेको छ । देशको ८१.३ प्रतिशत जनसंख्यासँग शत्रुतापूर्ण व्यबहार गरेर यो लोकतन्त्र कहिलेसम्म चल्छ ? हेरौं ।
“मरता क्या नहीं करता“ भन्ने हिन्दी उखान यो लोकतन्त्रका पक्षधरहरूले सम्झेको राम्रो हुन्छ । सत्य तीतो हुन्छ । मनन गरौँ ।