वार्ता मिल्ने सम्भावना देखिएको छैनः माधव नेपाल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको बताएका छन् । बिहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले हिजोको छलफलमा केही आश लागेको भएपनि आज त्यो पनि बाँकी नरहेको बताएका हुन् । उनले दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको बताए । उनले भने,’ मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।’

यसअघि बुधबार लामो समयपछि दुई नेताबीच पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफलल भएको थियो । बुधबार वार्ता भएपनि आज बिहान बल्खुस्थित पार्टी मुख्यालय शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपालहरु अर्को पार्टी गठनको तयारीमा लागेको भन्दै आक्रोश पोखेका थिए । प्रधानमन्त्री ओलीले पार्टीमा थप क्षति हुन नदिन सम्झाउने बुझाउने काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले गुटसँग सम्झौता नगर्ने समेत बताएका छन् ।