प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार बिहान ११ बालुवाटारमा बैठक बोलाएको हो ।

यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन् । शुक्रबार दिउँसो ललितपुरको कोन्जोसोम गाउँपालिकाको भवन उद्घाटन गर्न पुगेका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेका हुन् । भवन उद्घाटनपछि आयोजित सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई फोन गरेको प्रचण्डले बताएका हुन् ।

उनले भने, ’म बस्दै गर्दा प्रधानमन्त्री केपी ओलीको फोन आयो मलाई धेरै समयपछि । म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनें । उहाँको फोन आएपछि मैले उद्घाटन गरेपछि तपाइँले के भन्न खोज्नु भएको हो यो बाटो तपाईं बनाइदिनुस् ठूलो काम हुनेवाला छ भन्ने छु ।’ सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साविकको अवस्थामा फर्काइदिएपछि दुई नेताबीच भेटवार्ता भएको छैन।