चुच्चे नक्सा हराएको हो कि हत्या भएको हो ?


काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालहठ त्यागेर राष्ट्रिय सहमतिका लागि पहल गर्न आग्रह गरेका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले नेपाली राजनीतिमा नयाँ उचाई प्राप्त गर्न राष्ट्रिय सहमतिको लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले भने, ‘म भन्छु मेरै गोरुको बाह्रै टक्का भन्ने कसैले लिनु हुँदैन । प्रधानमन्त्रीजी मै ठीक छु मेरो कुरा सुन भन्नुहुन्छ । तर राजनीतिका लागि लामो समय जेल बसेको मान्छे भएकाले मेरो आग्रह छ उहाँलाई नयाँ उचाई प्राप्त गर्नुस् । जालझेल गरेर सकुनीले पासा फ्याँके जस्तो नगर्नु । फेरि सकुनीले पाण्डवलाई जंगल पठाए जस्तो होला ।’

उनले लोकतान्त्रिक प्रणालीमा चुनाव अपरिहार्य भएपनि त्यसका लागि पनि सहमति आवश्यक रहेको बताए । उनले चुच्चे नक्सा हराएको हो कि बालहत्या भएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

उनले भने, ‘मैले यसअघिको सदनमा प्रधानमन्त्रीलाई भनेको थिएँ इनफ इज इनफ भनेको थिएँ । तर प्रधानमन्त्रीलाई त्यसको जवाफ दिइरहनु उचित लागेन र उहाँले आवश्यक पनि ठान्नुहुन्न । ओलीले मोदीसँग हार्नुहोला अरुसँग हार्नुहुन्न ।’ उनले संविधान जारी गर्दा सबैतिर खुसीयाली छाएको नभई विरोधसमेत भएकाले संविधान अपनत्व हुने गरी परिमार्जन गर्नुपर्ने बताए ।

उनले भने, ‘संविधान परिमार्जन गर्नुपर्छ । सबैको अपनत्व हुनेगरी । संविधान जारी गर्दा एकातिर दीपावली भएको थियो भने अर्को तिर आगो लागेको थियो । देशमा खुसीयाली छाएको थिएन । परिमार्जनका लागि सदनमै धेरैको आवाज उठेको छ । तर त्यसको सुनुवाई भएको छैन । प्रधानमन्त्री एक्लैले चाहेर पनि सक्नुहुन्न । त्यसका लागि पनि सहमति आवश्यक छ । यसमा सबै दलले सोच्नुपर्ने बेला भएको छ । २०४७ सालको संविधान मान्दैनौं भनेर १२/१३ जनाले भनेका थिए । त्यति बेला त्यो आवाज सुनिएन । त्यसैबाट पछि देशले कस्तो दुःख पायो ? ध्यान जानुपर्छ ।’ उनले प्रधानमन्त्रीलाई कुर्सी छाड भनेर मात्र नहुने भन्दै विपक्षी दलले समाधान दिनुपर्ने बताए ।

उनले भने, ‘कांग्रेस, मधेसी दल सबैले समाधान दिनुपर्छ । जुहारीबाट जनताको दुःख समाधान हुँदैन ।’ गिरीले यो संविधानलाई बचाएर अघि बढ्ने हो कि चुच्चे नक्सा नक्सा जस्तो बनाउने भन्ने अहम् प्रश्न खडा भएको बताए । विगतमा प्रधानमन्त्रीले आफूभन्दा माथि उठेर प्रतिपक्षको नेता र सभामुखलाई समेत विश्वासमा लिनुपर्नेमा त्यसो नगर्दा समस्या निम्तिएको बताए ।

मुलुकलाई यहाँसम्म पुर्याउनुमा हामी सबै दोषी रहेको भन्दै गिरीले भारत, युरोप र अमेरिकालाई दोष दिएर पन्छिन नमिल्ने बताए । उनले भने, ‘कसैले केही गरेका होइनन् । हामीलाई हेरौं एकपटक । संकटमा एक होऔं कसैले केही गर्न सक्दैन ।’