कोभिड खोप पूरा विश्वभरि कहिलेसम्म पुग्ला ?



विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले खोपले महामारीको ज्वारभाटालाई मोड्न ठूलो आशा प्रदान गर्ने बताएका छन् । तर विश्वलाई सुरक्षित राख्न हामीले खोप खरिद गर्न सक्ने देशका सर्वसाधारण मानिसहरू मात्रै नभएर जोखिममा रहेका सबैलाई खोप उपलब्ध गराउनुपर्ने उनले बताए । खोपले विश्वलाई सामान्य अवस्थामा फर्किन सहयोग गर्नेछ भन्ने कुरा हामीलाई थाहा छ तर कैयौँ बाधाका कारण यो यात्रा सबैका लागि छोटो नहुन सक्छ ।

उदाहरणका लागि केही देश र राजनीतिक समूहले खोप उपलब्ध हुनासाथ आपूर्तिका लागि प्रतिस्पर्धा गर्न थालेका थिए । अनि खोप राष्ट्रवादले गरिब देशका सर्वसाधारण मानिसलाई लामको पुछारतिर धकेलिरहेको छ । खोप लिने नलिने विषयमा अन्योल, उत्पादन र ढुवानीमा देखिएको समस्याले पनि ’हर्ड इम्यूनिटी’ अर्थात् कुनै समुदायका धेरै सदस्य सङ्क्रमित हुँदा भाइरसले नयाँ सङ्क्रमण गराउन नसक्ने अवस्थामा पुग्ने अवस्थामा पुग्ने कुरामा तगारो बनेको छ जुन कोभिड–१९ विरुद्ध युद्धको अन्तिम लक्ष्य हो । यी सबै समस्याकाबीच विश्वव्यापी रूपमा खोप कार्यक्रम कहिले देखि फलदायी होला त?

खोप आपूर्ति कसरी भइरहेको छ?
कोभिड–१९ विरुद्ध खोप कार्यक्रम विश्वका धेरै मुलुकहरूमा सुरु भएको छ । तर माग र आपूर्तिमा भने तालमेल देखिँदैन । वर्ल्ड इन डेटाको तथ्याङ्कअनुसार हालसम्म १३८ राष्ट्रमा खोपका ५६ करोडभन्दा बढी मात्रा सर्वसाधारणहरूलाई दिइसकिएको छ । मार्च ३० तारिखमा मात्रै झन्डै एक करोड ३९ लाख मात्रा खोप दिइएको थियो । हेर्दा यो सङ्ख्या उल्लेख्य लाग्न सक्छ। तर ७.८ अर्ब मानिस भएको विश्वमा यो मात्रा करिब ७.२ प्रतिशत मानिसलाई खोपको एक मात्रै मात्रा उपलब्ध गराउन पर्याप्त छ । यही गतिमा खोप दिइए विश्वभरि सबैलाई खोप दिन तीन वर्षभन्दा बढी समय लाग्न सक्छ ।
कुनकुन खोप प्रयोगमा छन् ?
सबैभन्दा पहिले फाइजर–बायोएनटेकले विकास गरेको खोप सार्वजनिक प्रयोगका लागि गत डिसेम्बर २ तारिखमा यूकेले स्वीकृत गरेको थियो । लगत्तै अमेरिका, युरोपेली सङ्घ र विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप स्वीकृत गरे । त्यसपछि अमेरिकामा विकासित मोर्डेर्ना, यूकेमा अक्सफर्ड विश्वविद्यालयले बनाएको आस्ट्राजेनेका, चीनको सिनोफार्मले बनाएको सिनोभ्याक अनि रुसद्वारा विकसित स्पुत्निक प्रयोगमा आए । अन्य दुई खोपको ठूलो दायरामा गरिएको परीक्षणबारे नतिजा पनि भर्खरै सार्वजनिक भएको छ । जोन्सन एन्ड जोन्सन र नोभ्याक्सले बनाएका छुट्टाछुट्टै खोपलाई औषधि नियामकहरूले प्रयोगका लागि स्वीकृत गर्नुअघि समीक्षा गर्नेछन् ।

‘खोप राष्ट्रवाद’ के हो?
आफ्ना देशका नागरिकहरूका लागि अनुचित तरिकाबाट खोप उपलब्ध गराउनका लागि विभिन्न देशका सरकारहरूले चाल्ने पहललाई “खोप राष्ट्रवाद“का रूपमा व्याख्या गरिन्छ । कैयौँ धनी राष्ट्रहरूले दुईपक्षिय सम्झौता गर्दै आफूलाई आवश्यक पर्नेभन्दा निकै धेरै सङ्ख्यामा उत्पादकहरूबाट खोप खरिद गरिरहेका छन् । उदाहरणका लागि क्यानडाले आफ्नो जनसङ्ख्यालाई खोपको पूर्ण मात्रा पाँच पटकसम्म लगाउन पुग्नेगरी मगाएको छ । त्यसबाहेक उसले अमेरिकामा खपत नभएको आस्ट्राजेनेका खोप पनि प्राप्त गर्नेछ । त्यस्तै खोपको भण्डारण गरेको यूकेमाथि पनि आरोप छ ।

पुग्नुपर्ने ठाउँमा खोप पुगिरहेको छ त ?
कैयौँ मध्यम र कम आय स्तर भएका राष्ट्रहरू खोपका लागि कोभ्याक्स सुविधामा निर्भर छन् । विश्व स्वास्थ्य सङ्गठनले नेतृत्व गरेको यो अभियानको उद्देश्य आर्थिक रूपमा विपन्न राष्ट्रहरूलाई खोपको छ अर्ब मात्रा उपलब्ध गराउनु हो जसमध्ये सन् २०२१ मा दुई अर्ब मात्रा दिइनेछ । कोभ्याक्स सुविधामार्फत् हालसम्म ७० राष्ट्रलाई तीन करोड २० लाख खोपका मात्रा उपलब्ध गराइएको छ ।

आफ्नो जनसङ्ख्याको ठूलो मात्रालाई खोप दिने कुरामा अफ्रिकी राष्ट्रहरू पछि पर्ने र उनीहरू कोम्याक्स सुविधामा भर पर्ने ठानिएको छ । कोम्याक्स सुविधामार्फत् खोप प्राप्त गर्ने पहिलो अफ्रिकी राष्ट्र घाना बन्यो। उसले तीव्र गतिमा खोप वितरण गर्ने वाचा गर्नुका साथै अन्य मापदण्ड पूरा गरेसँगै गत महिना खोप प्राप्त गरेको थियो । तर तीन करोड १० लाख जनसङ्ख्या रहेको उक्त मुलुकले पहिलो खेपमा खोपका छ लाख मात्रा मात्रै प्राप्त गरेको छ । खोप खरिद गर्नका लागि बेलैमा सम्झौता नगरेका कारण पश्चिमा राष्ट्रहरूभन्दा उनीहरूले बढी मूल्य तिर्नुपर्ने हुन सक्छ।

कोभिडको नयाँ प्रकारले खोपलाई कसरी प्रभाव पार्छ?
कोरोनाभाइरसको नयाँ प्रकार उत्पन्न हुने कुरा अपेक्षित नै थियो । सबैखाले भाइरसमा उत्परिवर्तन हुन्छ र जीवितै रहन नयाँ प्रकार बन्ने गर्छ। कोरोनाभाइरसको हालसम्म वेलायत, ब्रजिल र दक्षिण अफ्रिकी भेरिअन्ट (प्रकार) फेला परेका छन् । यी प्रकारले गम्भीर बिरामी पार्ने विषयबारे कुनै प्रमाण छैन। धेरै विज्ञहरूले छोटो समयका लागि भए पनि खोप प्रभावकारी हुने ठान्छन् । तर कोभिड–१९ लाई विश्वभरि फैलन दिँदा भाइरसको उत्परिवर्तन हालसम्म विकास भएका खोपबाट नियन्त्रण गर्ने नसकिनेगरी हुन सक्छ जसले खोप प्राप्त गरिसकेकाहरू समेत पुनः सङ्क्रमित हुने जोखिम बढाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको