नवलपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकको लोकतन्त्र खतरामा रहेको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका तिलकप्रसाद सापकोटाले लेखेको ‘यात्रा निरन्तर’ पुस्तकको शनिबार विमोचन गर्दै यादवले लोकतन्त्र रक्षाका लागि सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने बताएका हुन् ।
संविधान जारी गर्दा र माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा कांग्रेसले नेतृत्वदायी भूमिका खेलेको भन्दै डा यादवले लोकतन्त्रको रक्षाका लागि पनि अब कांग्रेसले नेतृत्व गर्नुपर्ने बताए । “नेपालमा लोकतन्त्रको नागरिक जग बलियो छ”, यादवले भने, “नेपालमा नगारिक सचेत छन्, हरेक राजनीतिक परिवर्तनमा जनताले साथ दिएका छन् ।”
राजनीतिक परिवर्तनका क्रममा विश्वभर छरिएर रहेका नेपालीहरुले साथ दिएको भन्दै यादवले अबको पद्दति कसरी बलियो बनाउने भन्नेमा लाग्नुपर्ने बताए ।
संविधान जारी गर्ने क्रममा आफूले देशभित्रको समस्या समाधान गरेर जाऊँ भन्दा कांग्रेसले नै आफूलाई छाडेको डा यादवको भनाइ छ । “संविधान जारी गर्दा तराई–मधेसको समस्या समाधान गरौँ देशमा शान्ति आउँछ भनेको थिएँ”, यादवले भने, “तर त्यो बेलामा कांग्रेसले नै मलाई एक्लै बनायो ।”
संविधान र देशलाई केन्द्रविन्दुमा राखेर शान्ति स्थापना गर्न सकिने उनको भनाइ थियो । सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाले ‘यात्रा निरन्तर’ मार्फत विगतमा भएका राजनीतिक घटनाक्रमका बारेमा यथार्थ चित्रण गर्नुभएको भन्दै डा यादवले यसबाट वर्तमान युवापुस्ताले पाठ सिक्न सक्ने बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले वर्तमान सरकारले विधिको शासन, जवाफदेही राजनीति र लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न नसकेको बरु उल्टो दिशातर्फ हिँडेको आरोप लगाए । कोरोनाका कारण राज्य शिथिल बनेको अवस्थामा यसबाट प्रभावित जनशक्तिका लागि राहतको कार्यक्रम ल्याउन नसकेको गुनासो गरे । कार्यक्रममा थापाले धर्मको नैतिक पक्षलाई समातेर राजनीति गरिरहेको सन्दर्भमा सापकोटाको यस पुस्तकले प्रेरणा प्रदान गर्ने बताए ।
सापकोटाले विसं २०४० देखि २०७६ माघसम्म आफैँले भोगेका र लेखेका दैनिक घटनाक्रमलाई पुस्तकमा उतारेका छन् । लोकतन्त्र प्राप्तिका लागि सङ्घर्षको समय–डायरीमा सामाजिक तथा राजनीतिक पृष्ठभूमिबारे उल्लेख गरेका छन् । पाँच सय आठ पृष्ठको सो पुस्तक साङ्ग्रिला बुक्स र विजय फाउण्डेसनले प्रकाशनमा ल्याएका हुन् ।
पुस्तकमा लेखकले आफूले भोगेका विविध घटनाक्रम, आफ्नो जेल जीवन र समग्र राजनीतिक जीवनदेखि सामाजिक क्षेत्रमा आफ्नो संलग्नतासमेत गरी उनको समग्र दैनिकी समेटिएको छ । सादगी र सरल स्वभावका सापकोटा प्रजातन्त्र र स्वतन्त्रताको आन्दोलनका साथै त्यसका लागि आवश्यक पर्ने राजनीतिक र नागरिक सङ्गठन निर्माणका लागि निरन्तर सङ्घर्षरत एक असल प्रजातन्त्रवादी व्यक्तित्व हुन् ।

प्रतिक्रिया