प्राविधिक रूपमा समर्थन फिर्ताको निवेदन नदिए पनि सरकारलाई समर्थन छैनः माओवादी केन्द्र


काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीवार स्थायी कमिटी बैठक बसेपनि सरकारलाई दिएको समर्थन फिर्ताकाबारेमा कुनै निर्णय गरेन ।

बैठकपछि नेता नारायणकाजी श्रेष्ठले प्राविधिक रूपमा समर्थन फिर्ताको निवेदन नदिए पनि सरकारलाई समर्थन नरहेको बताए । उनले भने, ‘संसद् विघटनको प्रतिगामी कदम चाल्ने सरकार सर्वोच्चको फैसलापछि नैतिक हिसाबमा पनि जानुपथ्र्यो र नेपालको राजनीतिलाई सही ढंगले अगाडि बढाउन नयाँ सरकार गठन गर्नुपथ्र्यो । प्राविधिक पत्र नपठाए पनि यो सरकारलाई हाम्रो समर्थन रहँदैन ।’

श्रेष्ठले प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पाटी) (जसपा)लाई सरकारलाई समर्थन गर्ने वा अविश्वासको प्रस्ताव राख्ने भन्ने निर्णय गर्न आग्रह गरे ।

उनले दुई/तीन दिनभित्र स्थायी कमिटीको औपचारिक बैठक बसेर समर्थन फिर्ताबारे निर्णय गर्ने जानकारी दिए । राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक पनि छिट्टै बस्ने उनले बताए ।