काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले बाहिर चर्चा भएजस्तो देशमा कुनै संकट नरहेको बताएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालको २३औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
उनले एकता भन्ने शब्दको हुर्मत प्रज्ञा भवनको डबलीमा बसेर लिइएको भन्दै आलोचना गरे । देश संकटमा नपरेको पनि उनले दाबी गरे । बरु, केपी ओली, प्रचण्ड र माधव नेपाललाई संकट परेको होला तर देशलाई संकट नपरेको उनको दाबी छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई केही विमारी त आफूले नदेखेको पनि उनको जिकिर छ । उनले चुनाव गर्दा लोकतन्त्रलाई खतरा कसरी पर्छ ? भन्दै प्रतिपश्न गरे । उनले प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि अबको २० महिनामा नियमित प्रक्रियाबाटै पनि चुनाव हुने भन्दै त्यसले कसरी लोकतन्त्रलाई खतरामा पार्छ भन्दै प्रश्न गरे ।
प्रधानमन्त्रीले भने, ‘चुनाव भएर लोकतन्त्रलाई खतरामा पार्छ भने अब २० महिनामा त चुनाव नै हुन्छ नि । तालसुरमा कुरा गर्नुपर्छ मान्छेले ।’ उनले प्रतिनिधिसभा विघटनको सिफारिस अदालतले बदर गरेको उल्लेख गर्दै आफू कुनै आवेश र उत्तेजनामा नआएको स्मरण गराए ।
उनले अदालतको फैसलालाई आफूहरुले मान्ने र कार्यान्वयन गर्ने पनि सुनाए । संसद् पूनःस्थापना हुँदा अदालतलाई गुणगान गर्दै अविर जात्रा गरेको भन्दै प्रचण्ड र माधव नेपालतर्फ ईंगित गर्दै पछि उनीहरुले नै फेरि अदालतको आदेशको आलोचना गरेको पनि उनले टिप्पणी गरे ।प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताएका हुन् ।
प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षाका प्रवन्धहरुका क्षेत्रमा थुप्रो काम हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु गर्यौँ । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौँ । अब पनि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अझ बढ्छ नै ।’
प्रदेश सरकरहरुलाई केन्द्र सरकारबाट दिइने बजेटमा कहीँ कतै विभेद नभएको पनि उनले बताए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकताको खारेजीको सम्बन्धमा पुनरावलोकनका लागि सर्वोच्च अदालत गएको सन्दर्भ उल्लेख गर्दै उनले पुनरावलोकनमा जानुलाई मजाक गरिएको टिप्पणी गरे । उनले भने,‘आज पुनरावलोकनका लागि जानु भाछ क्यार । अदालत कुनै मजाक गर्ने ठाउँ हो र ? दर्ता खारेज गरिदियो । पार्टी आफ्ना आफ्ना भइसके ।’
प्रधानमन्त्री ओलीे केही मान्छेहरुको महत्वकांक्षाका राजनीतिक अस्थिरता निम्तिन खोजेको बताए । केही व्यक्तिहरुले आफ्नो निहित स्वार्थका कारण देशको राजनीतिलाई धमिल्याउन खोजेको पनि बताए ।

प्रतिक्रिया