काठमाडौं । नेपाली कांग्रेसले म्यानमारमा पछिल्ला केहिदिन यता सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएको छ ।
आइतबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी जनता माथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङसुकी लगायत सबैलाई रिहाइ गर्न म्यान्मार सरकारलाई आग्रह गरेका हुन् ।
उनले लोकतन्त्र पुनस्र्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीब्र दबाब बढाउन आवश्यक देखिएको पनि बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यवद्धता जनाउने नीति नेपाली कांग्रेसले लिंदै आएको छ । म्यानमारको पछिल्लो कु लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालि रहेका छौं । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ ।’
उनले दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरिपनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताका पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमि गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा एक्यवद्ध हुन अपील गरेका छन् ।
नागरिक सत्ता कु गरी सेनाले सत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा चार सय नागरिकको मृत्यु भइसकेको छ । सेनाले सडकमा निस्कने नागरिकलाई अमानवीय तवरले गोली हानी हत्या गर्ने गरेका दृष्य सार्वजनिक भइरहेका छन् । सेनाले पाँच वर्षका बालिकालिकोसमेत हत्या गरेको छ ।

प्रतिक्रिया