घरमूलीले नै विधान नमान्नु लज्जाको विषयः माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र विधिको शासन पालना नहुँदा आफू चिन्तित भएको बताएका छन् । बृहत नागरिक आन्दोलनले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै वरिष्ठ नेता नेपालले घर मुलीले नै विधान नमान्नु चिन्ताको विषय भएको बताएका हुन् ।

उनले कम्युनिष्ट पार्टी अधिनायकवादी बाटोमा हिंड्न नसक्ने र हिंड्न नदिने बताए । उनले भने, ‘कम्युनिष्ट पार्टी अधिनायकवादी बाटोमा हिंड्दैन । पार्टीमा अधिानायकवादको स्थान छैन र त्यसलाई स्वीकार गर्न सकिँदैन । पार्टीभित्र विधानको पालना नमान्ने प्रचालन चलेको छ । हामी त्यसको उपचार खोजिरहेका छौं । आर्यघाटमा पनि घाटे वैद्यको खोजी भइरहेको छ । हामी घाटे वैद्य खोजिरहेका छौं । विचार नगरी कदम चाल्दा परिणाम आउँदैन । आजसम्मको मेरो अनुभवले भनेको छ कि समयको नाडी छाम्न सक्नुपर्छ हामी छामिरहेका छौं । समय आएपछि ट्याक्क अघि बढ्छौं ।’

उनले आफू आफ्नो पार्टीको सरकार निरन्तर रहोस् भन्ने पक्षमा रहेको बताए । उनले भने, ‘हामी ओली सरकारलाई माओवादी केन्द्र र जसपाले साथ देओस् भन्ने चाहना छ । महन्थ ठाकुरजी र मिनेन्द्रजीको दया हुन्जेल सरकार कायमै रहन्छ ।’

उनले राजनीति सरल तरिकाले अघि नबढ्ने भन्दै अहिले अनेक आउपेच भइरहेका अनेक चाणक्य नीति लागू भइरहेका बताए । उनले आफू राजनीतिक हिसावले सबैलाई गोलबन्द गर्न लागिपरेको बताए ।

उनले भने, ‘मैले त हिजै संसदीय दलको बैठक बालुवाटारमा जान्न भनिसकें । जानुहुन्छ कि जानुहुन्न भन्ने कुरा लक्षणबाटै थाहा हुन्छ । राजनीतिक हिसावले गोलबन्द गर्न चाहन्छौं । बहुदलीय व्यवस्थामा राजनीति चाहिन्छ । मैले राजनीतिबाट भागिहाल्नुपर्ने अवस्था आइसकेको छैन । स्पष्टीकरणको साथका जवाफ माग गरिसकेको छु ।’