एमालेमा गुटगत बैठकको होडबाजी, नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएपछि ओली पक्षले बोलायो संसदीय दलको बैठक


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक बोलाए लगत्तै पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् ।

नेपाल पक्षले बिहान ११ बजे केन्द्रीय कमिटी बैठक बोलाएकोमा ओलीले दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएका हुन् । ओलीले बालुवाटारमा दिउँसो तीन बजे संसदीय दलको बैठक बोलाएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकरी दिएका छन् ।

ओली समूहले नेपालसहित उपध्यक्ष डा. भीम रावल, स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरणको पत्र बुझाएको थियो । तीन दिनभित्र जवाफ पेश गर्न भन्दै महासचिव ईश्वर पोखरेलले उनीहरुलाई पत्र पठाएका थिए ।

उक्त पत्रको जवाफ दिन बुधवार दिनभर छलफल गरेको नेपाल पक्षका नेताहरुले बिहीवार पनि आन्तरिक छलफललाई तिब्रता दिएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते अध्यक्ष र महासचिवबाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर माओवादीबाट गएकाहरुलाई केन्द्रीय कमिटीमा एकलौटी मनोनयन गरेपछि एमालेमा विवाद बढेको छ ।

त्यसपछि नेपाल पक्षले समानान्तर कमिटी बनाउँदै गएको छ । ओली पक्षको संसदीय दलले अध्यक्षलाई सबै अधिकार केन्द्रित गरी झनै बलियो बनाएको छ । ओली पक्ष नेपाल पक्षलाई कारबाही गर्ने तयारीमा छ भने नेपाल पक्ष पनि स्पष्टीकरणको जवाफसहित ओलीलाई पनि स्पष्टीकरण सोध्न तयारीमा छ ।