काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि राजनीतिक स्थायीत्वको एजेण्डा एक नम्बरमा उभिएको बताएका छन् ।
बुधबार काभ्रेको धुलिखेलमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावदीहरुले कम्युनिष्ट पार्टीभित्रै पसेर अस्थिरता निम्त्याउन लागेकाले राजनीतिकि स्थायीत्वको एजेण्डा एक नम्बरका परेको बताएका हुन् ।
शान्ति सम्झौता, संविधान निर्माण र कम्युनिष्ट एकता दलाल पूँजीपतिलाई मन नपरेको र उनीहरुले पार्टीको अर्को अध्यक्षलाई प्रयोग गरेर व्यवस्था मास्न लागिपरेको उनले बताए ।
उनले भने, ‘नेपालीहरुको आत्मनिर्णयको अधिकार धरापमा परेको छ । हामी आफ्नो निर्णय आफैं गर्न सक्षम भयौं भन्ने महसुस गरेको थिएँ तर अहिले त्यो रहेन । आत्मगौरव हुन्थ्यो शान्ति सझौता गर्दा र संविधान बनाउँदा । तर अहिले हामी निरिह, नेपालीहरु हेपिन थालेको हो कि भन्ने महसुस हुन थालेको छ । तिमीहरु आफू निर्णय गर्न पाउँदैनौं हाम्रो आदेश पालना गर्नुपर्छ भन्न खोजिएको हो कि जस्तो लाग्छ । संसद मात्र भंग मात्र भएको थिएन संविधानलाई कागजको खोष्टो बनाउन खोजिएको थियो । पहिला पहिलाको जस्तो मध्यावधि गर्ने भने जस्तो थिएन त्यो ।’
दुई पार्टीको एकतापछि झण्डै दुई तिहाईको मत पाएको र मुलुक समृद्धिको दिशामा अघि बढ्छ भन्ने सोचिएपछि त्यो हुन नदिन विभिन्न शक्ति केन्द्र लागिपरेका बताए । संसद विघटन गर्ने सरकारको निर्णय खारेज त्यही सर्वोच्च अदालतले गरेर जनताको पक्षमा निर्णय गरेको तर त्यही अदालतका दुई जना न्यायाधीशले फेरि मुलुकलाई अन्धकारमा लैजाने प्रयत्न गरेको भन्दै त्यो पक्कै पनि सही नभएको उनले बताए ।
उनले भने, ‘चुनाव गरियो झण्डै दुई तिहाइ पनि ल्याइयो । तर उनीहरु पहिलो दिनदेखि नै षड्यन्त्रमा थिए र अहिले कम्युनिष्ट पार्टीभित्रैबाट ती शक्ति सफल भए । अर्को अध्यक्षालई प्रयोग गरे । संसद विघटन गर्ने, संविधान भत्काउने काम भयो । प्रतिगमन भयो । हामीले देशव्यापी अभियान चलायौं र अन्तत सर्वोच्चले सरकारको विघटनको घोषणा खारेज गर्यो । त्यहाँसम्म नेपाली जनताले व्याटल जितेको हो । तर ढुक्क हुने अवस्था छैन । संसद पुनःस्थापना गर्दा जनताको पक्षमा गर्यो तर त्यही अदालका दुई न्यायाधीशले फेरि अर्को फैसला गरेर अचम्म पारेको छ । यो सही होइन ।’ उनले नेपालीले जित्ने हो कि होइन भन्ने प्रश्न फेरि टड्कारो भएर खडा भएको उनले बताए ।
उनले त्यसको जवाफ नेपाली जनताले एक भएर आफ्नो निर्णय लिन सफल छन् भन्ने सन्देश दिनुपर्ने बताए । उनले विगतदेखिनै प्रतिक्रियावादीहरु एकता भत्काउन लागिपरेकामा अहिले सफल भएका बताए ।
उनले भने, ‘एकतापछि देशैभरी खुसीयाली पनि छायो विकास समृद्धि सुशासन हुने भयो भनेर । विकासको कायापलट गर्ने सपना देखेका थियौं । निकै ठूलो सपना देखेका थियौं । संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान ती व्यक्तिलाई मन परेको थिएन । निरंकुशतन्त्र चलाएकालाई मन परेको थिएन । जनताको विद्रोहबाट उनीहरु पछाडि धकेलिए तर सयौं वर्षदेखिको पकडबाट कुनै न कुनै दिन उल्टाउने पक्षमा षड्यन्त्र गरिरहेका थिए । यसको मलाई अनुभूति थियो र छ पनि । संविधान बनाउने बेला बाम गठबन्धन नहोस् भनेर के कस्ता कसरत भए भन्ने कुरा नजिकबाट हेर्ने भोग्ने पीडा महसुस गर्दैछु ।’

प्रतिक्रिया