काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न महासचिव विप्लव प्रधानमन्त्री निवास बालुवाटार गएका थिए ।
भेटमा तीन बुँदे सहमति अनुसार बन्दी रिहाइका विषयमा केन्द्रित रहेको नेकपा केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले जानकारी दिएका छन् । भेटमा प्रधानमन्त्री ओलीले सहमतिअनुसार नै प्रक्रिया सुरु भएको र क्रमशः बन्दी रिहा हुने जानकारी गराएका केन्द्रीय सदस्य चलाउनेले बताए ।
नेकपाका अझै एक सय ४८ जना नेता कार्यकर्ता जेलमा छन् । छलफलमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए । फागुन २१ मा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा क्रमशः बन्दी रिहाइ गर्ने उल्लेख छ । तर, सहमति अनुसार बन्दी रिहाइमा विलम्ब भएको भन्दै चन्द प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।
फागुन २१ मा सरकार र नेतृत्वको पार्टीबीच नेकपा शान्तिपूर्ण राजनीतिमा आउने, पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने तथा कारागारमा रहेका नेकपाका नेता–कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति थियो ।

प्रतिक्रिया