ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय अस्वीकार गर्दै सकियो नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन माग गर्दै पार्टी एकता बचाउन अन्तिम समयसम्म कोशिश गर्ने निर्णय गरेको छ ।

ललितपुरको सानेपामा दुई दिनसम्म चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गर्दै पार्टी एकता बचाउन हरसम्भव प्रयास गर्ने निर्णय गरेको हो । भेलाको समापन गर्दै वरिष्ठ नेता नेपालले कार्यकर्ताको भावनाअनुसार ओलीलाई सच्याउन आफूहरूले अन्तिम समयसम्म लड्ने र मैदान छाडेर नभाग्ने बताएका छन् ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत नेता योगेश भट्टराईले जानकारी दिएका छन् । भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गर्दै यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यबाट प्रेरित भएको निष्कर्ष निकालेको छ ।

भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी फागुन २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

नेपाल पक्षले आफूहरुले पार्टी विभाजन पनि नगर्ने तर ओली गुटले बोलाएको केन्द्रीय कमिटी बैठकमा पनि नजाने निष्कर्ष निकालेको छ । भेला समापनपछि आयोजित पत्रकार सम्मेलनमा भट्टराईले २०७५ जेठ २ गते भन्दा अघिको एमालेको संसदीय दलको बैठकमा जाने बताए । उनले भने, ‘हामी संसदीय दलको बैठकमा जान्छौँ । एमालेको संसदीय दलको नेता उहाँलाई मान्छौँ तर केन्द्रीय कमिटीको बैठक होइन, ओली गुटको बैठक हो, त्यहाँ जाँदैनौँ र पार्टी पनि हामीले फुटाउदैनौँ ।’