पार्टी भित्र अचाक्ली भयो, अब सह्य हुँदैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टी भित्रको अचाक्ली नसहने बताएका छन् । मंगलबार बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टीभित्र समानान्तर कमिटी गठन र भेला सह्य नहुने बताएका हुन् ।
उनले २०७५ जेठ तीन गते अघिको अवस्थामा फर्कियो भनेपछि छुट्टै भेला गर्दै केही नेताहरु निहुँ खोज्दै हिँडेको भन्दै आपत्ति जनाए । उनले भने, ‘जंगलको राज चलाउने, विधि पद्धतिका कुरा गर्ने ? नियम कानुन, संविधान केहीको मतलव छैन । अहंकार, स्वेच्छाचारी । पार्टीमा अब उप्रान्त विधि विधान विरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ ’
उनले एमालेका नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान आग्रह गरे । उनले प्रतिनिधि सभा विघटनको औचित्य अब पुष्टि हुनेसमेत बताएका छन् । संसद् सुरु भएको पहिलो दिनदेखि मुद्दा लडेर ल्याएको संसद् आफैँ चल्न नदिने र आफैँ वेलमा गएर नारा लगाउने स्थिति बनेको भन्दै विघटनको औचित्य पुष्टि हुँदै गएको बताए ।