प्रधानमन्त्री ओलीद्वारा आफूले एकलौटी गरेका निर्णय खारेज गर्न अस्वीकार


काठमाडौं । लामो समयसम्मको संवादहीनता र तिक्ततापूर्ण सम्बन्धमा रहेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्ष संवादमा जुटेका छन् ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा दुई पक्षबीच वार्ता भएको हो । वार्तामा प्रधानमन्त्री ओलीले मिलेर अघि बढ्न नेपाल पक्षलाई आग्रह गरेका छन् । नेपाल पक्षले भने फागुन २८ गते ओली पक्षले एकतर्फी ढंगले गरेको निर्णय बदर गर्नुपर्ने अडान राखेको छ ।

तर फागुन २८ गतेको निर्णय फिर्ता लिने विषयमा प्रधानमन्त्री मौन रहनुभएको नेता डा. भीम रावलले बताए । उनले पूर्ववत अवस्थामा गएका कुरा स्वीकार नगरे एक भएर जान नसकिने बताए ।

उनले कुरा नमिले पनि छलफल हुनसक्ने र छलफलको मिति भने तय नभएको जानकारी दिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल पक्षले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगन गर्न आग्रह गरेका थिए । त्यसमा नेपाल पक्षले यसअघिका पार्टी अध्यक्षबाट भएका निर्णय खारेज गर्नुपर्ने बताएको थियो ।

रावलले भने, ‘आफूले गरेको काम गरिहाल्ने, विधानअनुरुप भए हुने अरुले मानिदिनुपर्ने भन्ने कुरा हामीलाई स्वीकार्य हुँदैन । २८ गतेको निर्णय खारेज गर्नुपर्छ । २८ गतेको भनिएको निर्णय स्थगित भयो भने हामी राष्ट्रिय भेला स्थगित गर्न तयार छौँ भन्ने धारणा राख्यौँ तर उहाँ तयार हुनुभएन ।’

उनले नेकपा एमाले विभाजन गर्ने कसैको चाहना भए त्यो पूरा नहुने बताए । उनले पार्टी विधान अनुसार चल्नुपर्ने बताए । बैठकमा अध्यक्ष ओली पक्षबाट उनीसहित महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवाली लगायत नेताहरू सहभागी थिए भने नेपाल पक्षबाट वरिष्ठ नेता नेपालसहित उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, रघुजी पन्त लगायत नेताहरू सहभागी थिए ।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई बदर गर्दै एमाले ब्युताइदिएपछि ओली र नेपाल पक्षबीच संवाद हुन सकेको थिएन ।

प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित मुख्य नेताहरूको जिम्मेवारी खोस्दै माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिएपछि एमालेभित्रको विवाद तीव्र रूपले बढेको छ । प्रधानमन्त्री ओलीले २८ गते गरेको निर्णयलाई चुनौती दिँदै नेपाल समूहले समानान्तर विभागहरू गठन गरेको छ भने चैत ४ र ५ गते राष्ट्रिय भेला बोलाएको छ।