केपी ओलीमा कम्युनिष्ट पार्टीको सदस्यमा हुनुपर्ने सामान्य चरित्र नदेखिएको माधव नेपाल समूहको आरोप


काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल समूहका ११ जना सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी विर्सजनवादी भएको आरोप लगाएका छन् ।

आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गरी केपी ओलीका पार्टी विधान विपरीतका अराजक, स्वेच्छाचारी, विसर्जनवादी र विघटनकारी क्रियाकलाप नै पार्टी एकता तथा कम्युनिष्ट आन्दोलनका सामु समस्याका रुपमा उपस्थित भएका बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी)को सिद्धान्त, नीति र विधि हाम्रो पक्षमा छ र हामी केपी ओली गुटका अवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कृत्यहरुलाई पराजित गरी छाड्नेछौँ । पार्टीको लोकतान्त्रिक र क्रान्तिकारी चरित्रलाई पुनःस्थापित गरी मुलुकको अग्रगामी परिवर्तनलाई सुदृढ र वामपन्थी शक्तिहरुलाई एकतावद्ध बनाउँदै नेकपा (एमाले)लाई एकताबद्ध र सशक्त किसिमले अघि बढाउन सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं।’