हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ: रामकुमारी झाँक्री


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले गरेको निर्णयविरुद्धको लडाईँ अन्तिम र निर्णायक हुने बताएकी छन् ।

शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत झाँक्रीले ओली समूहले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्नका लागि यो निर्णय गरेको भन्दै यत्तिकै विसर्जन हुन नदिने बताएकी हुन् । नेकपाको एमालेको केन्द्रीय कमिटी नाम दिइएको शुक्रबार बसेको ओली समूहको बैठकले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष र महासचिवबाहेकको जिम्मेवारी खोसिएपछि झाँक्रीको यस्तो प्रतिक्रिया आएको हो ।

उनले लेखेकी छन्, ‘जे भइरहेको छ यो एकदमै गलत हो । विधान विपरीतको ज्यादती हो । कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ । यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ । साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ ।’