माओवादी र जसपाका नेताबीच सत्ता साझेदारीबारे वार्ताः माग पूरा गर्ने सुनिश्चितता जसपाको शर्त


काठमाडौँ । सत्ता समीकरणकाबारेमा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भएको छ । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा जसपाका अध्यक्ष महन्त ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच सत्ता समीकरणकाबारेमा छलफल भएको हो ।

अध्यक्ष प्रचण्डलाई भेट्न ठाकुर र महतो माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका थिए । छलफलमा अध्यक्ष प्रचण्डले जसपालाई सत्ता समीकरणका लागि सहयोग गर्न आग्रह गरेका थिए । छलफलमा जसपाका नेताहरुले आफूहरुका माग सम्बोधनको सुनिश्चितता हुनुपर्ने बताएका छन् ।

विगतमा पटक–पटक धोका पाएको भन्दै जसपाका नेताले उदारोमा सहमति नगर्ने बताएका छन् । जसपाले रेशम चौधरीलगायत मधेस, थरुहट आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सवालहरु जसले पूरा गर्छ उसैलाई समर्थन गर्ने बताएको छ ।

यसअघि माओवादी अध्यक्ष प्रचण्डले सत्ता समीकरणकाबारेमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए । सत्ता समीकरणका बारेमा निर्णयका लागि बिहीबार जसपाका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।