भावी रणनीति तय गर्न प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बैठक बोलाइएको छ । पार्टीको भावी रणनीति तय गर्नेबारे बैठकमा छलफल हुने बताइएको छ ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरिदिएपछि प्रचण्ड–नेपाल समूह गठबन्धन बनाएर अघि बढ्न अन्य दलसँग छलफल र भेटघाट गरिरहेका छन् । केन्द्रीय कमिटी बैठकले फागुन २३ गतेदेखि सुरु हुने संसद अधिवेशन कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने बताएपछि उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।