एमसीसी, नागरिकतालगायतका विधेयक रोकेपछि संसद विघटनः सुवास नेम्वाङ
काठमाडौं । नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङले प्रतिनिधिसभा विघटनका बारेमा आफूले सर्वोच्चको फैसला आएपछि मात्रै बोल्ने बताएका छन् ।
विराटनगरमा ओली समूहको सभालाई सम्बोधन गर्दै नेम्वाङले आफू कानुनको विद्यार्थी भएकाले अहिले त्यसबारे नबोल्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री वैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुनुहुन्छ, ढुक्क हुनुहुन्छ । म प्रधानमन्त्रीलाई असाध्यै विश्वास गर्छु । म कानुनको विद्यार्थी भएकाले विघटनबारे अहिले यति मात्र बोल्छु । फैसलापछि यसबारेमा थप बोल्नेछु।’
उनले दुई तिहाइको सरकारलाई काम गर्न नदिएकाले प्रधानमन्त्रीले संसद विघटन गर्नुपरेको बताए । उनले एमसीसी, नागरिकता विधेयक जस्ता थुप्रै विधेयक संसदमा पेश नगरेपछि विघटन प्रधानमन्त्रीको बाध्यता भएको बताए ।
नेम्वाङले जनताले वैशाख १७ र २७ गतेको निर्वाचन अनुमोदन गरिसकेका दाबी गरे । ‘निर्वाचनमा जाने भनेर जनताले फैसला गरिसके । सम्मानित सर्वाेच्च अदालतको फैसला हामी कुरिरहेका छौं,’ उनले भने ।
उनले यससभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वपूर्ण सूचना सुनाउन चाहेको बताए । कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले मुलुकलाई अँध्यारो सुरुङतिर लगेको आरोप लगाए । ‘खुमलटारमा दर्ता भएको दाहाल, नेपाल, खनाल कम्पनीले देशलाई अराजकतातिर धकेल्न खोज्यो, राष्ट्रपतिलाई हटाएर, प्रधानमन्त्री र मुख्यमन्त्रीलाई अपदस्त गरेर मुलुक कब्जा गर्ने कित्ता देखापरेको छ,’ उनले भने, ‘यो कित्ताले अँध्यारो बाटो रोजेको छ, मुलुकलाई अँध्यारो सुरुङतिर लगेको छ ।’