निर्वाचनविरुद्ध कुनै प्रकारको षड्यन्त्र नगर्न आयोगलाई प्रधानमन्त्रीको चेतावनी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले निर्वाचन आयोगले जनताले थाहा पाउने गरी समयमै निर्वाचन गर्न तयारी गर्नुपर्ने बताए । उनले भने, ‘निर्वाचन गर्नुपर्ने निकायले निर्वाचनको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधिसभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिन अघि नै अब निर्वाचनको तयारी गर्नुस् भनेको छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन । के तयारी गर्दै हुनुहुन्छ त्यति राम्रो देखिएको छैन ।’

प्रधानमन्त्रीले निर्वाचन गर्नका लागि निर्वाचनको मिति घोषणा गरिएको भन्दै त्यसका विरुद्ध कुनै प्रकारको षड्यन्त्र नहोस् भन्ने आफूले चाहेको बताए । उनले निर्वाचन गराउँदा संविधान नमिचिने बताए ।

उनले भने, ‘निर्वाचन हुँदा संविधान मिचिन्छ, लोकतन्त्र समाप्त हुन्छ भने अब डेढ वर्ष पछि त लोकतन्त्र कुनै हालतमा बाँच्ने भएन नि त ।’