बलिदानका लागि फेरि तयार रहन प्रचण्डको आग्रह


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि एकजुट हुन सबै नेपालीलाई अपील गरेका छन् ।

जनयुद्ध दिवसका अवसरमा शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले दक्षिणपन्थी कित्ताबाट संविधानमाथि प्रहार भएकाले त्यसलाई परास्त गर्न आमनेपालीलाई फेरि संघर्षमा उत्रिन अपील गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई हजारौं सहिदहरुको रगतबाट बनेको संविधान च्यात्ने भ्रम नपाल्न चेतावनी पनि दिएका छन् । ७० वर्षदेखिको लडेर ल्याएको संविधानमाथि प्रधानमन्त्रीकातर्फबाट घात भएको भन्दै अध्यक्ष प्रचण्डले यसका विरुद्ध जनता प्रतिक्रान्तिमा उत्रिएका र यसलाई निष्कर्षमा पुर्याउनुको विकल्प नभएको बताए ।

उनले भने, ‘कार्ल माक्र्सले सामाजिक रुपान्तरणको निम्ति केही समय सहिदहरुलाई राज्यले दबाइदिनसक्छ । तर फेरि आउने पिँढीले चिहानबाट निकालेर त्यस्ता सहिदलाई जिउँदा मानिसलाई उत्प्रेरणा दिन निकालेर हिँड्नेछन् भन्नु भएको छ । हो हामीले पनि सहिदका सपन कुल्चनेविरुद्ध सहिदका कंकाल बोकेर जनता जगाउँदै हिंड्नुपर्छ र प्रतिगमनकारीलाई परास्त गर्नुपर्छ ।’

सहिदको सम्मान र बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिई बलिदानका लागि फेरि तयार हुनुपर्ने संकल्प गर्नुपर्ने बेला अएको उनले बताए । नेकपाको प्रचण्ड नेपाल समूहले जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।