निर्वाचन तयारी र पार्टीविवादबारे छलफल गर्न प्रधानमन्त्री निर्वाचन आयोग जाँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदै छन् । प्रधानमन्त्री ओली बिहान ११ बजे निर्वाचन तयारीकाबारेमा छलफल गर्न आयोग जान लागेका हुन् । त्यसक्रममा ओलीले पार्टीको विवाद तथा निर्वाचन तयारीमाबारेमा कुराकानी गर्ने नेता सुवास नेम्वाङले जानकारी दिए ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री ओलीले हिजो साँझ मात्रै आफू आयोग आउन लागेको जानकारी गराएका थिए । प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गररे आगामी बैसाखमा मध्यावधि निर्वाचनको मिति घोषणा गरेपछि नेकपा विभाजित भएको छ । पार्टी विभाजन पछि दुबै पक्षले आफू आधिकारिक भएको दावी गर्दै आयोगलाई पत्र लेखेका थिए । तर आयोगले त्यसलाई मान्यता दिएको छैन ।

त्यसपछि, आयोगले नेकपाका दुवै समूहलाई छलफलका लागि बोलाएको थियो । ओली समूह आयोगसँग छलफल गरी फर्किएको थियो भने प्रचण्ड नेपाल समूहले शीर्ष नेता नै छलफलमा सहभागी हुने भन्दै केही दिनपछि बोलाउन आग्रह गरेको थियो । त्यसपछि पार्टीको आधिकारिकता दाबी गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललगायतका नेताहरू आयोग पुगेर पार्टीको निर्णयलगायतका आधिकारिक कागजात बुझाएका थिए ।