काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ बहुमत ल्याउने ढंगले निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
काठमाडौंमा बिहीबार अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पार्टी र सरकारलाई काम गर्न नदिने केही व्यक्ति पार्टी छोडेर जादैमा आत्तिनु नपर्ने बताएका हुन् ।
उनले आगामी निर्वाचनमा बहुमत ल्याउँछौ भन्ने मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘सानदार बहुमत ल्याउनु पर्दछ । कसैले ठान्ला पार्टी फुटेको छ कसरी बहुमत ल्याउँछ ? ३ करोड मान्छेमा २/४ जना जाँदैमा पार्टी फुट्यो ? आत्तिनु पर्दैन । मनोबल गिराउनु पर्दैन ।’
उनले कम्युनिष्ट आन्दोलनका सबै भन्दा ठूला विरोधी प्रचण्ड नेपाल समूह भएको आरोप लगाए । कम्युनिष्ट कै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक पटक बदनाम गर्ने काम गरेको उनले बताए । उनले भने, ‘मान्छे विग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओढेर उहाँ बाटामा बसेको छ । कम्युनिष्टकै बर्को ओढेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु । विगतमा पनि दुःख दिए ।’
प्रधानमन्त्री ओलीले भूमि व्यवस्था र सुकुम्बासी समस्या समाधान गर्ने आफ्नो नेतृत्वको सरकारको अभियानलाई नेता माधव नेपालले अघि बढ्न नदिएको प्रसंग दोहोर्याए ।
उनले भने,‘यसपटक पनि उहाँ कपाल लुछीलुछी, छाती पिटीपिटी किन रुनुभएको छ ?आयोग बन्यो अब किसानको केही हुने भो उहाँलाई पिर परेको छ । उहाँलाई कृषि के हो ? हलो त समातेको छैन कहिल्यै । के बुझ्नु ? नजोति खान पाएपछि किन बुझ्नु ?”
आफ्नै कार्यकर्ता नियुक्त गर्दा नि माधव नेपालले आफ्ना पक्षधरको कुरा उठाएर अवरोध श्रृजना गर्ने गरेको प्रधानमन्त्री ओलीले आरोप लगाए।

प्रतिक्रिया