काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संवैधानिक आयोगहरुमा असंवैधानिकरुपमा नियुक्ति गरिएको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्ति जारी गरी सिंहले । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहीत ‘म नै संविधान हूँ’ भन्ने दम्भ उजागर भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक रूपमा संवैधानिक आयोगहरूमा गरिएको नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । संसदीय सुनुवाइ समिति नै नभएका बेला संविधानको खिल्ली उडाउँदै गरिएको नियुक्तिले प्रधानमन्त्रीमा अन्तरनिहित ‘म नै संविधान हूँ’ भन्ने दम्भ उजागर भएको छ । संवैधानिक परिषदको अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी ओलीसहितको (कोरम नपुगेको) बैठकले गरेको सिफारिस नै असंवैधानिक थियो । त्यसैले आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्काे असंवैधानिक कदम हो ।’
संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुने भन्दै उनले सात दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण संकटमा परेको उल्लेख गरेका छन् । उनले अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित भएको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सफारिस, नियुक्ति, विचौलियाहरूलाई नियम मिचेर दिइएका ठेक्कापट्टा र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ । अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ । संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन अपिल गर्न चाहन्छु ।’

प्रतिक्रिया