काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुन नसक्ने जानकारी गराएको छ ।
आयोगले आजका लागि निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो । आयोगको आग्रहपछि शुक्रबार प्रचण्ड–नेपाल समूहका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र उहाँहरु आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने पत्र बुझाएका छन् ।
‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहनुभएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहन्छुु,’ केन्द्रीय कार्यालयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।
यसअघि पुस ५ पछि ओली र प्रचण्ड समूहले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाउँदै आयोगले पुरानै व्यवस्था कायम गरेको थियो ।

प्रतिक्रिया