नेपाली जनताको स्वतन्त्रताले अझै किन पाएन स्थायित्व ?


काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेले १०४ वर्षे राणा शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत नेपाली जनता आन्दोलनमा होमिनु पर्ने अवस्थामा रहेको बताएका छन् ।

सहिद दिवसको अवसरमा शुक्रबार एक सन्देश जारी गर्दै नेता पौडेलले सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको बताएका हुन् ।

उनले भनेका छन्, ‘मुलुक र जनतालाई राणा शासन (तानाशाह) बाट मुक्त गर्ने आन्दोलनको नेतृत्व गरे बापत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई १९९७ साल माघ १०÷१३÷१६ गते राणाशाहीद्वारा मृत्यु दण्ड दिइयो । त्यसैपछि राणाहरुको निरंकुशता विरुद्ध उठेको क्रान्तिको लहरले नेपालमा प्रजातन्त्र प्राप्त भयो । १०४ वर्षे शासन अन्त्य भएर लोकतन्त्र प्राप्त हुँदा समेत सहिदहरूले देखाएको बाटोमा हिड्न नसक्दा नेपाली जनताको स्वतन्त्रताले अझै स्थायित्व पाउन सकेको छैन । यीनै महान सहिदहरूको बलिदानले मार्गदर्शन गरेको बाटोमा आज पनि हिड्न पर्ने भएको छ । सात दशकको अथक प्रयासबाट निर्मित (संविधानसभाबाट प्राप्त) संविधानको रक्षा र नागरिक स्वतन्त्रताका लागि आजपनि आन्दोलनमा होमिनु परेको छ । यसै सन्दर्भमा देश र जनताको मुक्तिका लागि आफ्नो प्राण दिने महान वीरहरुमा हार्दिक सलाम !’