ओलीले चाल्ने कुनैपनि तानाशाही कदमको प्रतिवादका लागि तयार रहन कार्यकर्तालाई प्रचण्ड-नेपालको निर्देशन


काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिगमनविरुद्धको जारी आन्दोलनले देशव्यापी जागरण पैदा गरेको उल्लेख गर्दै यसलाई अझ उचाइमा पुर्याउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संघर्ष समितिको  बैठकले आन्दोलनलाई थप उचाइमा पुर्याउने निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वय पुषपकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले आन्दोलन र माधवकुमार नेपालले आन्दोलनमा प्राप्त समर्थनका लागि सबैलाई धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षाका लागि आन्दोलन अपरिहार्य रहेकाले जनपरिचालन गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र निर्वाचन आयोगले पनि त्यही उल्लेख गरेकाले कुनै दुविधाविना लाग्नुपर्ने उनीहरुले बताएका छन् ।

अध्यक्षद्वयले संविधान भत्काएर केपी ओलीले चाल्ने कुनै पनि तानाशाही कदमको त्यही रूपमा प्रतिवाद गर्न तयार रहन कार्यकर्ता पंक्तिलाई निर्देशन दिए । बैठकले यही माघ २८ गते काठमाडौंमा आयोजना हुने जनप्रदर्शनलाई हालसम्मकै विशाल बनाउनेबारे कार्ययोजना बनाएको छ ।