यदि ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति भएको भए- ट्रम्प भर्सेस वासिङटन !



नारायण पौडेल।
‘वासिङटन तेस्रो कार्यकालका लागि मसँग चुनाव लड्ने भए उनीपनि मसँग हार्थे । मेरो अप्रुभल रेटिङले आकाश चुम्दै थियो । यहीबेला यो चाइनिज भाइरस आयो । यो भाइरस ठेगान लाग्नेछ । फेरि अमेरिका महान बन्नेछ ।’ राष्ट्रपति डोनाल्ड ट्रम्पले केही महिना पहिले दिएको अभिव्यक्ति हो यो । राष्ट्रपिताकारुपमा अति पूज्य वासिङटनसँग आफूलाई तुलना गर्ने दुस्साहस सायदै कोही अमेरिकन राजनीतिज्ञले कहिलै गरेको होस । तर, ट्रम्प सजिलै गर्दिन्थे । ट्रम्प आफ्नो कार्यकालमा भएका प्रगतिका सूची प्रस्तुत गर्थे । र, भन्न छुटाउदैनथे–इतिहासमा यस्तो कहिलै भएको थिएन ।

तर, ट्रम्पलाई पराजित गर्न स्वर्गवासी वासिङटन आउनुपरेन । ट्रम्पकै शब्दमा लुते बाइडन नै उनलाई तह लगाउन काफी भए । ४ बर्षे कार्यकालमा ट्रम्पले सानाठूला गरी तीस हजार झूट बोलेको बताइन्छ । सबैभन्दा सफेद झूट उनले आफू पराजित भएपछि बोले । आफैँले गराएको निर्वाचनमा आफू विरुद्ध धाधली भएको, नक्कली मतपत्रमार्फत बाइडनलाई बिजयी बनाइएको रटान लगाइरहे । रिपब्लिकन पार्टीको सरकार रहेका राज्यको मत परिणाम उल्टाउन अनेक तिकडम गरे । आफूप्रति बफादार तीन न्यायाधीश नियुक्त गर्न सफल ट्रम्प अदालतबाट आफ्नो पक्षमा निर्णय हुने आशामा थिए । सेटिङबाटै संवैधानिक प्रावधान मिल्काउन सकिने उनको आशामा तुषारापात भयो । ट्रम्पका तर्फबाट निर्वाचन परिणाम उल्टाउने आशयका साथ दायर गरिएको रिट सर्वोच्वले खारेज गरिदियो ।

निर्वाचन परिणाम अस्विकार गरेसँगै ट्रम्प राजनीतिकरुपमा एक्लिदै गएका थिए । उनका महान्याधिबक्ता विलियम बारले निर्वाचनमा धाँधली नभएको सार्वजनिक वक्तव्य दिए, र पदबाट बिदा भए । एकपछि अर्को रिपब्लिकनले बाइडेनलाई बधाइ दिए । सबैतिरबाट निर्वाचन परिणाम उल्टाउने प्रयास असफल भएपछि ट्रम्पले उपराष्ट्रपति पेन्सलाई मोहरा बनाउने जुक्ति निकाले ।

बहालवाला उपराष्ट्रपतिको अध्यक्षतामा बस्ने सिनेटको बैठकले राष्ट्रपति निर्वाचनको परिणामलाई प्रमाणिकरण गर्दछ । चार बर्षसम्म आफूप्रति बफादार रहेका उपराष्ट्रपति पेन्सलाई ट्रम्पले सार्वजनिकरुपमा आह्वान गरे –पेन्सले राज्यबाट आएको मत परिणाम पुनः रुजु गर्न राज्यमा फिर्ता गरिदिनुपर्छ, बाइडेनलाई कुनै हालतमा बिजयी घोषित गरिनु हुँदैन ।

पेन्स ट्रम्पले तय गरेको बाटो हिड्न तयार भएनन् । उनले संसदलाई चिठी लेखेरै भने–मत परिणाम उल्टाउने अधिकार आफूसँग छैन । निर्वाचन मत परिणामको प्रमाणिकरण नियमित प्रक्रियाअनुसार नै हुनेछ ।

रिसले चूर भएका ट्रम्पले आफू समर्थकलाई प्रमाणिकरण रोक्न समर्थकलाई आह्वान गरे । पेन्सको अध्यक्षतामा सिनेटको बैठक बस्ने दिन अर्थात जनवरी ६ का दिन दशौँ हजार ट्रम्प समर्थक वासिङटन डिसीमा भेला भए । ह्वाइटहाउस अगाडि जम्मा भएका समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भनिदिए–जानुहोस क्यापिटल हिल (सिनेट हल) र न्वारनदेखिको बल लगाएर अन्तिम लडाइ लड्नुहोस्, जितिएको निर्वाचन लुटिनबाट जोगाउनुहोस ।

त्यसपछि के भयो जगजाहेर छ । २०२४ मा पुनः उम्मेदवार भइ ह्वाइटहाउस फर्किने ट्रम्पको सम्भाबना लगभग सकिएको छ । सिनेटबाट महाअभियोग प्रमाणित हुने र पूर्वराष्ट्रपतिका रुपमा प्राप्त हुने बिरासत गुमाउने सम्भाबना छ । दर्जनौ प्रकृतिका छानबिन र मुद्धामामिला गुजार्दैमा ट्रम्पको बाँकी जीबन व्यतित हुने बताइन्छ । असफल कूको प्रयाससँगै ट्रम्प अमेरिकी इतिहासको अर्को पाटो भएका छन् । दुई पटक महाअभियोग लाग्ने एकमात्र राष्ट्रपतिको इतिहास रचेका उनी पदबाट बाहिरिएसँगै जेलसमेत पर्न सक्ने विश्लेषण हुँदै आएको छ ।
ठीक यहीबेला एउटा प्रश्न धेरैको मानसपटलमा उब्जिएको छ– वासिङटनको ठाउँमा ट्रम्प अमेरिकाकोसंस्थापक राष्ट्रपति भइदिएको भए अमेरिकी राजनीति के हुन्थ्यो होला ?

बेलायती उपनिवेशबाट अमेरिका स्वतन्त्र भएपछि मुक्ति सेनाका प्रमुख जर्ज वासिङटन जे बन्नपनि सक्थे । इतिहासकारहरुका अनुसार स्वयंलाई राजासमेत घोषणा गर्न सक्ने शक्ति उनमा निहित थियो। तर, उनले राजनीतिबाट अवकाश लिने र पुख्यौली खेतीपाती गरेर शान्त जीबन जिउने ईच्छा व्यक्त गरे । अमेरिकाको भबिश्य कसरी अगाडि बढाउने भन्नेबारे धेरै कोणबाट छलफल भयो । जताबाट छलफल गरेपनि वासिङटनले नेतृत्व नगरी अमेरिकी मनोविज्ञानलाई एकढिक्का पार्न नसकिने निष्कर्षमा संस्थापक नेताहरु पुगे । वासिङटन सन् १७८९ मा सर्बसम्मत अमेरिकाको पहिलो राष्ट्रपति भए ।

अमेरिकी संविधान लेखनका बखत वासिङटनलाई केन्द्रीत गरी विभिन्न प्रावधान राख्न खोजियो । अलेक्जेन्डर ह्यामिल्टनले राष्ट्रपति जीबनभर बन्न पाउने प्रस्ताब गरे । जोन एडम्सले राष्ट्रपतिलाई महाराजधिराज भनेर सम्बोधन गर्नुपर्ने सुझाए । व्यक्ति हेरेर संविधान बनाउने कुराप्रति वासिङटन सहमत भएनन् । हिज म्याजेस्टीका ठाउँमा राष्ट्रपतिलाई मिस्टर भनेपुग्ने विधि बसाले । मन्त्रीपरिषद्मा विपरित बिचारको प्रतिनिधित्व गर्ने ह्यामिल्टन र टामस जेर्फसनजस्ता विद्धानलाई समावेश गरे ।

पहिलो कार्यकाल सकिनै लाग्दा वासिङटनले राजनीतिबाट सन्यास लिने तयारी थाले । बिदाइ मन्तब्य पनि तयार भइसकेको थियो । तर, समकक्षी सबैले अबिभाज्य अमेरिकाका लागि भन्दै अनुनय गरेपछि दोस्रो कार्यकालका लागि राष्ट्रपति हुन उनी राजी भए ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएका राज्यहरु मिलाएर बनेको सयुक्त राज्य अमेरिकाले गणतन्त्रात्मक संघीय राज्य प्रणाली अबलम्बन गरेको थियो । राजतन्त्रात्मक बेलायतमा अमेरिकी कदमका बारे विषेश चासो हुने नै भयो । राजा जर्ज तेस्रो वासिङटनबारे विभिन्न कोणबाट जानकारी लिइरहन्थे । अमेरिकी कलाकार वेन्जामिन वेष्टले राजालाई सुनाए–वासिङटन अब राजनीतिबाट बिदा भइ खेतिपातीमा लाग्छन् । अविश्वास गरेको शैलीमा जर्ज तेस्रोले उद्षोष गरे – त्यसो गरे उनी विश्वकै महान कहलिने छन् ।

संविधानले रोकेको थिएन, प्रतिष्प्रर्धी कोही थिएन । तर, सत्ताका लागि सर्वस्विकार्य वासिङटनले तेस्रो कार्यकालका लागि राष्ट्रपति बन्न इन्कार गरे । आठ बर्षसम्म देशको नेतृत्व गरेका वासिङटन १७९७ मा राजधानी नजिकैको पुख्यौली माउन्ट वेर्ननमा किसानका रुपमा फर्किए । खेतीपातीमा सक्रिय भएकै बखत उनको १७९९ को डिसेम्बरमा निधन भयो ।

वासिङटनको पदचापलाई उनीपछिका राष्ट्रपतिले अनुशरण गरे । जस्तै लोकप्रिय भएपनि तेस्रो कार्यकालका लागि राष्ट्रपति हुने लालचा देखाएनन् । वासिङटनले नगरेको काम मबाट हुन्न भन्दै पन्छिए । राष्ट्रपतिबाट बिदा भएपछि राजनीतिक दाउपेचमै रहलिने भन्दा पुख्यौली वा आफूले विगतमा गर्दै आएको व्यवशाय गर्ने थिति बस्यो । अमेरिकी इतिहासमा दुई कार्यकालभन्दा बढी राष्ट्रपति हुने एकमात्र व्यक्ति हुन्–रुजभेल्ट । दोस्रो विश्वयुद्ध र अमेरिकाको गन्जागोल स्थितिलाई कारण देखाउँदै रुजभेल्ट चौथो कार्यकालसम्म राष्ट्रपति भए । सोसँगै अमेरिकामा बहश सशक्तरुपमा छेडियो । र, दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न नपाउने गरी संविधान संशोधन गरियो ।

संविधानका अक्षरभन्दा पनि संविधान निर्माताका आशयले अर्थ राख्छन् । संविधानको कार्यान्वयनमा संविधान निर्माणकर्ताको कथनी र करणीले दीर्घकालसम्म प्रभाव पार्दछ । अमेरिकामा आजपनि संविधानमा प्रष्ट नलेखिएका कतिपय सवाल खडा भएमा संस्थापकको आशय के थियो भन्ने लेखाजोखा गर्ने प्रचलन छ । झण्डै सवा दुई सय बर्ष अघिको आशयले आजको उत्तराधुनिककाललाई डोरयाउने गर्दछ । राजनीति साझा मैदान हो । अनेक प्रवृत्ति र पात्र आउछन जान्छन् । आशन र शासन उही भएपनि पात्र र प्रवृत्तिको योगदान र लेखाजोखा उही हुँदैन । उदाहरणका लागि सबैले कर गर्दागर्दैपनि राष्ट्रपति छाडेर कृषि कर्ममा लाग्ने वासिङटन र पराजित भएरपनि कु गर्न तम्सिने ट्रम्पलाई हेरे पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाललाई थप तीन लाख डोज खोप दिने चीनको घोषणा

काठमाडौं । चीनले नेपाललाई अनुदानमा कोभिडविरुद्धको आठ लाख डोज खोप दिने भएको छ

एक व्यक्ति कसरी सम्पूर्ण महिलाको प्रतीक हुन सक्छ ?

राजेन्द्र थापा । रघुजीको प्रसङ्ग सही हो । एमालेमा ३०/३५ वर्षदेखि सकृय महिला

नाइजेरियामा बन्दुकधारी समूहद्वारा सात गाउँलेको हत्या

अफ्रिकी मुलुक नाइजेरियाको उत्तरी राज्य कडुनाको गाउँमा बन्दुकधारीले आक्रमण गरी सात जना गाउँलेको

अमेरिकाले मङ्गलबारसम्म जोन्सन एन्ड जोन्सनको ४० लाख डोज खोप वितरण गर्ने

अमेरिकाले जोन्सन एन्ड जोन्सन कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप