प्लाज्मा उपचारविधिले कोभिड-१९ का बिरामीलाई बचाउन नसक्ने



वेलायतका अस्पतालहरूमा गरिएका परीक्षणहरूले कोभिडको सम्भावित उपचारविधिको रूपमा हेरिएको ’रगत प्लाज्मा’ को उपयोगले बिरामीको मृत्यु हुने सम्भावना नघटाएको देखाएको छ ।

कोरोनाभाइरस सङ्क्रमण भएर निको भएका व्यक्तिबाट प्लाज्मा सङ्कलनको अभियान चलाएको वेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएस तथा अनुसन्धानकर्ताहरूका लागि यो नतिजाले आघात पुर्याएको छ । यो परीक्षण ’रिकभरी ट्रायल’ नाम दिइएको एउटा विस्तृत अध्ययन तथा परीक्षणको अङ्ग थियो । यो ट्रायलले कोभिड १९ विरुद्ध कस्ता औषधि र उपचार लाभदायक छन् भनेर हेरिरहेको छ । तर अब यो ट्रायलअन्तर्गतको प्लाज्मा परीक्षण बन्द गरिएको छ । अक्सफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस परीक्षणमा सहभागी भएका मानिसप्रति गहिरो आभार प्रकट गरेका छन् ।

एनएचएसको ब्लड एन्ड ट्रान्सफ्यूजन केन्द्रले प्लाज्मा दानको कार्य अस्थायी स्थगन गरिएको बताएको छ । कन्भलेसन्ट प्लाज्मा भनिने कोभिडबाट निको भएका मानिसहरूको रगतमा भएको एन्टिबडीले अन्य बिरामीलाई रोगविरुद्ध सङ्घर्ष गर्न सघाउन सक्छ भन्ने मान्यताले धेरैको ध्यानाकृष्ट भएको छ । यो विधिलाई कोभिड १९ विरुद्ध सम्भावित उपचारको रूपमा पनि हेरिएको थियो । यो विधिमा रोगमुक्त भएका व्यक्तिको शरीरबाट निकालिएको रगतको प्लाज्मा अरू गम्भीर बिरामीको शरीरमा दिइन्छ। त्यसो गर्दा गम्भीर बिरामीको शरीरको प्रतिरोध प्रणाली भरथेग हुने आश गरिएको थियो । यसैकारण एनएचएसले खासगरी धेरै एन्टिबडी उत्पादन भएको ठानिने पुरुषहरूलाई प्लाज्मा दान गर्न आह्वान गरेको थियो।

परीक्षणको उपयोगिता
तर वेलायतका १० हजार चार सय बिरामीमा गरिएको अध्ययन तथा १,८७३ मृत्युको विश्लेषण गर्दा प्लाज्मा उपचारले ’कुनै उल्लेखनीय भिन्नता नपारेको’ भेटिएको छ । कन्भलेसन्ट प्लाज्मा उपयोग गरिएको बिरामीको समूहमा कोभिड लागेको २८ दिनभित्र १८५ बिरामीको ज्यान गएको थियो। अरू बिरामीको हकमा पनि मृत्युको अनुपात उस्तै थियो । अध्ययनमा सहभागी बिरामीहरूको अवस्थाबारे अझै जानकारी बटुलिँदैछ र यसको अन्तिम परिणाम चाँडै नै प्रकाशित गरिने बताइएको छ ।

यसै साताको सुरुमा एउटा बेग्लै अध्ययनले यो उपचार विधिका कारण सघन उपचार कक्षमा रहेका बिरामीहरूको अवस्थामा कुनै सुधार आएको प्रमाण नभेटिएको देखाएको थियो । रिकभरी ट्रायलले यसरी गरिने विस्तृत परीक्षणमार्फत् सम्भावित उपचारको भूमिकाबारे उचित नतिजा निकाल्न सहयोग गर्ने देखाएको अक्सफर्ड विश्वविद्यालयको नफील्ड डिपार्टमन्ट अफ पपुलेशन हेल्थका मुख्य अनुसन्धानकर्ता एवम् एपिडीमीओलजी तथा मेडिसिनका प्राध्यापक मार्टिन लान्ड्रेले बताए । यो ट्रायलअन्तर्गत अझै अन्य औषधोपचारको उपयोगिताबारे अध्ययन तथा परीक्षण भइरहेको छ । तिनमा टसिलिजुमाब, एस्परिन तथा एन्टिबडी ककटेल पनि छन्।

ट्रायल सञ्चालनमा सहभागी प्राध्यापक पिटर हर्बीका अनुसार कन्भलेसन्ट प्लाज्माबारे भएको उक्त हालसम्मकै विस्तृत परीक्षण निको भएकाहरूले गरेको दान तथा औषधिविज्ञानको विकासमा बिरामीहरूले दिएका योगदानले सम्भव भएको हो । ‘समग्रमा नतिजा सोचे जस्तो आएन। तर हामीले कुनै खास बिरामी समूहमा यसका कस्ता प्रभाव रहे भन्नेबारे जान्न विस्तृत नतिजा कुर्नुपर्छ,’ उनले भने।

फिलिपा रक्स्बी
बीबीसी स्वास्थ्य संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेताहरुबाट कुरै नबुझी खोपमा भ्रष्टाचार भयो भनेर नकारात्मक प्रचार गरियोः स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कमिशनका कारण खोप खरिद प्रक्रिया अवरुद्ध भएको

कोरोनाभाइरसको भारतीय प्रकार विश्वव्यापी चिन्ताको विषय भएको विश्व स्वास्थ्य सङ्गठनको भनाइ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई विश्वव्यापी चिन्ताको भेरिअन्टको रूपमा वर्गीकरण

मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर

जेठ १३ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । काठमाडौं,