प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना हुँदैनः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुनै नसक्ने दाबी गरेका छन् । काठमाडौंमा शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनःस्थापना नहुने दाबी गरेका हुन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्चमा विचाराधीन छ । प्रधानमन्त्री ओलीले कार्यकर्तालाई झुक्याउन प्रचण्ड र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनःस्थापनाको हल्ला फैलाएको बताए ।

प्रधानमन्त्रीले भने, ‘पुनःस्थापना हुने कुरा कहाँबाट आयो ? पुनःस्थापना हुने कसले भने ? देश चुनावमा गइसकेको छ, निर्वाचन आयोगले तयारी गरिरहेको छ ।’ प्रतिनिधिसभा विघटन गर्नुका पछाडि आफूविरुद्ध पार्टीभित्रैबाट आएको अविश्वासको प्रस्ताव लगायतका कुरा रहेको प्रधानमन्त्रीले बताए ।

उनले आफूलाई जानकारी नदिइ राष्ट्रपतिकहाँ गएर विशेष अधिवेशन माग गर्नु, संसदमा सरकारले लगेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नगर्नु नै प्रतिनिधिसभा विघटनको कारण भएको बताए । तीन वर्षदेखिका विधेयक संसदीय समितिमा लगेर अड्काएकाले पनि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गरिएको उनले बताए ।