अल्पज्ञान भयङ्करम्
हरिप्रसाद रिमाल ।
१.हामी मानवहरूमध्ये धेरै जसोमा अलिकति जान्यो कि ‘मजस्तो जान्ने को छ र !’ भन्ने अभिमान चढिहाल्छ । तर पटक्कै न जान्नेले अलिकति जानेपछि मात्र फूर्ति बढ्ने हो । जब ‘आफूले जानेका कुरा त सियोको टुप्पो जति पो रहेछ ’भन्ने ज्ञान पलाउँछ त ऊ विचार गर्छ कि ‘मैले त पटक्कै केही पनि पो जानेको रहे न छु ।’
२. यस बारेमा राजा भतृहरिको अनुभव सम्झन लायक छ । उनले नीतिशतकमा भनेका छन् ‘जब मैले अलिकति मात्र के जानेको थिएँ ममा घमण्ड यति बढ्यो कि म मदोन्मत्त हात्ती जस्तै हुन पुगेँ । म सर्वज्ञ छु भन्ने अभिमान ममा व्याप्त भयो । तर जब विद्वान्हरूको सङ्गतले मैले अलि अलि जान्दै गएँ वा जानेँ त ‘जान्ने कुरा त धेरै पो रहेछन् मैले त केही पनि पो जानेको रहे न छु’ भन्ने मेरो चेत पलायो र मेरो अघिको ‘मजस्तो जान्ने त को छ र भन्ने अभिमानको मद—ज्वरो कता हरायो हरायो ।’
.यदा किञ्चिज्ज्ञोऽहं द्विप इव मदान्धः समभवं
तदा सर्वज्ञोऽस्मीत्यभवदवलिप्तं मम मनः ।
यदा किञ्चित्चिकिञ्चिद् बुधजनसकाशादवगतं
तदा मूर्खोऽस्मीति ज्वर इव मदो मे व्यपगत : ।।
३. यसप्रकार अल्पज्ञानको अहङ्कार ज्ञानको पोखरीमा पौडँदै गएपछि नाश हुन्छ भन्ने कुरा राजा भर्तृहरिको नीतिले पनि स्पष्ट गरेको छ । अल्पज्ञानको दबदबा घट्तै गएपछि विनम्रता, शालीनता र भद्रताहरू फष्टाउँदै जाने छन् ।