लघुकथा: प्रतिसोध
प्रभादेवी पौडेल ।
-“छिमेकी गोकुलकी छोरी कस्ती छ दाइ ? डिग्री पास त होनी ?”सरोजलाई सोध्यो नन्दलालले ।भाइका कुरा सुनेर सरोजले उत्सुकता जनायो , -” कसका लागी होर भाइ ? “कसका लागि हुनु नी दाइ मेरै छोरो बिजयको लागि हो नी।”-“कसरी कुरा पुग्यो त त्यहाॅ सम्म?” -“पोखरी मुनिका छबिले कुरा ल्याएका थिए त्यसै भएर आफ्नै आँखाले केटी घर परिवार बुझ्न आएको।” -” ए अरुलाई भए त त्यतिको हुन्छ भनिदिन्थ्यां तर आफ्नै छोराको लागि त म कसरी हुन्छ भनौं? रात दिन बाउ आमा झगडा गरेर हैरान, एक पटक त कुरो पार्पाचुके सम्म पुगेको थियो,केटी पनि बेला बेलामा चर्को बोलेर कानै खान्छे भन्यां पढेलेखेकी भनेर मात्र के गर्नु संस्कारै छैन ।” -“अनि केटीको चरित्र कस्तो छ नी?” -“के थाहा पाउॅनु! आजकलको जमानामा आफ्नै छोरा छोरीको त थाहा हुँदैन।”
त्यहा कुरा नमिलेपछि नन्दलाल बिहानै घरतिर फर्कियो।कारोबारिका अनुसार गोकुलको घरमा छोरीलाई केटो हेर्न आउने तयारी हुँदै थियो ,बिच बाटोमा सरोजले भड्काइदिएको कुरा उसले थाहा पायो। मानिसलाई सबैभन्दा ठुलो शत्रु भनेकै छोरा छोरीको बिहे भड्काउने मान्छे लाग्ने हुनाले उनीहरुको निक्कै ठुलो झगडा भयो। -“झन् नजिकको छिमेकी ज्यूदाको जन्ति मर्दाको मलामी भन्छन् यस्तो दुस्ट छिमेकी पर्यो” गोकुलले भन्यो । -“तेरी छोरी औधि मन परेको भए मेरा कुरा मान्थे र ठुला कुरा गर्दो रहेछ अझै, पर्दैन त्यस्ता ज्युदो मा त के म मरेपछि पनि पाईलो टेक्नु पर्दैन” भन्दै सरोज निक्कै रिसायो। मिलेर बसेका छिमेकी त्यो बेला देखि उनीहरुको आउ जाऊ बन्द भयो।
एकदिन अचानक सरोजको घरमा एकोहोरो शंख बजेको सुन्यो गोकुलले। उसले गहिरिएर बुझ्यो हृदय घातको कारण सरोजको मृत्यु भएको रहेछ।सबै भन्दा पहिला गोकुल नै पुग्यो। बाँस काट्न पनि सहयोगी लिएर आफै अग्रसर भयो। अफिसको समय हुनाले सागर जाने हरु धेरै जसो उपस्थिति जनाएर फर्किए।तर गोकुल भने अन्तिम सम्म बस्यो मुर्दा खरानी नभए सम्म। उस्ले जल्न गार्हो भएका र यत्र तत्र फैलिएका अंग हरुलाई बाँसको सहायताले एकै ठाऊमा बनाई बेसरी पसीना नै आउने गरि ठटायो जसले गर्दा लास राम्ररी जल्यो। नातेदार र छिमेकीले सोचे कति सहयोगी रहेछ भनेर तर अन्तिम अबस्थामा भएपनि गोकुलले आफ्नो प्रतिशोधको ज्वाला निभाएको थियो।
भरतपुर ९,चितवन