काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकतालाई जोगाउँदै गलत प्रवृत्तिको डटेर सामना गर्ने निर्णय गरेको छ ।
शुक्रबार पेरिसडाँडास्थीत नेकपा जनवर्गीय संठनको कार्यालयमा बसेको प्रदेश १ स्तरीय भेलाले पार्टीलाई सुदृढ र गलत कुराको विरोधमा डटेर लड्ने निर्णय गरेको हो ।
एकाधिकार र सर्वसत्तावादका विरुद्ध डटेर लड्ने निष्कर्ष भेलाले निकालेको छ । भेलामा नेकपाका अध्यक्ष प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका थिए ।
अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृत्तिगत कुरा मुख्य भएको बताउनुभएको भेलामा सहभागी एक नेताले जानकारी दिएका छन् ।
त्यस्तै भेलामा सहभागी नेकपा सांसद धर्मशिला चापागाईले अध्यक्ष प्रचण्ड लगायत बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि सम्बोधन गर्नुभएको जानकारी दिइन् ।
उनले पार्टीभित्रको वर्तमान अवस्थाका बारेमा छलफल भएको र एकतालाई सुदृढ बनाउनुपर्नेमा सबैको जोड रहेको उल्लेख गरिन् । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।

प्रतिक्रिया