प्रचण्ड र नेपाल समूहले बोलायो पेरिसडाँडामा भेला


काठमाडौं । सत्तारुढ नेकपामा आन्तरिक विवाद बढ्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भेला बोलाएको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरुलाई छलफलका लागि बोलाइएको छ । दिउँसो १ बजेपछि हुने भेलामा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाल निकट नेताहरु सहभागी हुने बताइएको छ ।

भेलामा पार्टीमा देखिएको आन्तरिक विवाद स्पष्ट पार्न नेताहरुसँग छलफल गर्न लागिएको हो । भेलालाई अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगाका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सरकारलाई एकलौटी ढंगबाट सञ्चालन गर्न थालेपछि प्रचण्डलगायतका नेताहरु असन्तुष्ट बनेका छन् । अध्यादेशलाई लिएर पछिल्लो विवाद सुरु भएको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि प्रचण्ड, नेपाल, खनाललगायतका नेताले आपत्ति जनाएका छन् । नेताहरुले अध्यादेश जारी भएको भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले फिर्ता लिने बताएका थिए । तर अध्यादेश फिर्ता भने भएको छैन ।