उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गर्नुपर्छः गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले उपसभामुख चयन नभएसम्म संवैधानिक परिषदको बैठकमा सहभागी नहुन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत थापाले बैठकमा नगई, संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न आग्रह गरेका हुन् ।

थापाले लेखेका छन्, ‘पार्टी सभापति तथा शीर्ष नेताज्यूहरू, पार्टी बैठकमा हामीले भनेका थियौँः बरालिएका केपी शर्मा ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पारौं, उपसभामुख नभएसम्म संवैधानिक परिषद बैठकमा नजाऔँ,संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पारौँ । यी विषयलाई त्यो बेला मनन नगर्दा आजको परिस्थिति आएको छ । आज बैठक बस्दै हुनुहुन्छ , पार्टी सभापतिलाई फेरि विनम्र अनुरोध !
संविधानको धारा ९३(३)अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔँ। उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौँ । उपसभामुख बिनाको संवैधानिक परिषद बैठक अस्वीकार गरौँ। संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौँ ।’